लेडी राइडर


कुनै किशोरी गुडिरहेको बाइकमाथि ह्यान्डल छाडेर उभिएको, लम्पसार
परेको, अगाडिको पाङ्ग्रा उठाएको, एकातिर उभिएर फनफनी
घुमाइरहेका दृश्यहरू देख्दा कस्तो लाग्छ ? आश्चर्यले तपाईंका आँखा
विस्फारित हुन सक्छन् । रमाइलो कुरा, अहिले सहरी क्षेत्रमा यस्ता दृश्य
साक्षात्कार गर्न थालिएको छ ।
मेला होस् वा महोत्सव, डान्सपार्टी वा कन्सर्ट, किशोरीहरूको यस्तै
जोखिमपूर्ण खेल कौशलले दर्शकको मन पगालिरहेको छ । पुरुषहरूको वर्चस्व
रहेको बाइक स्टन्टमा 'लेडी राइडर' को सहभागिताले छुटै ग्ल्यामर थपेको
छ ।
प्रसंग, केही समयअघि आयोजना गरिएको इफोरिया डान्स पार्टी विथ
स्टन्ट शोको हो । दरबारमार्गमा आयोजित यो कार्यक्रममा राइडर्स
युनिफाइडका तन्नेरीहरू स्टन्ट देखाइरहेका थिए । यही सिलसिलामा
सुवानी थापा र श्रेया श्रेष्ठले बाइकलाई सन्तुलनमा राख्दै अनेक खेल
देखाए । दर्शकहरूका निम्ति अनपेक्षित दृश्य थियो त्यो । सिनियर स्टन्ट
राइडर्स दिपेश श्रेष्ठले भने- 'उनीहरूले युवतीहरूले पनि स्टन्ट गर्छन् भनेर
सोचेकै थिएनन् । किनभने यसअघि स्टन्टका लागि लेडी राइडरलाई
मैदानमा उतारिएको थिएन ।'
दिपेशको दाबीलाई पत्याउने हो भने, नेपालमा पहिलो पटक लेडी राइरले
स्टन्ट देखाएको त्यही पहिलो अवसर थियो । त्यसपछिका स्टन्ट शोमा भने
लेडी राइडरको उपस्थिति अनिवार्यजस्तै भयो । पछिल्लो पटक वसन्तपुर
डबलीमा आयोजित स्टन्ट शोसम्म आइपुग्दा लेडी राइडरको संख्यासँगै
क्रेज पनि बढेको छ । अहिले आधा दर्जनजति लेडी स्टन्ट राइडर सक्रिय
रहेको दिपेश वताउँछन् ।
झट्ट हेर्दा लाग्छ, यो तन्नेरी जोसमा गरिने उट्याङपट्याङ काम मात्र हो
। यद्यपि बाइक स्टन्ट आफैंमा साहसिक खेल-कौशल हो । रोचक त के छ भने,
एकथरी तन्नेरी बाइक स्टन्टबाटै 'सेफ्टी राइडिङ'को सन्देश प्रवाह
गरिरहेका छन् । शैक्षिक मेलादेखि कलेजसम्म पुगेर उनीहरूले सुरक्षित ढंगले
बाइक कुदाउने, सडक अनुशासन पालना गर्ने जस्ता कुरामा प्रेरित
गरिरहेका छन् ।
त्यसो त यसकै आडमा कतिपय तन्नेरीले करियर बनाइरहेका छन्, ख्याति
आर्जन गरिरहेका छन् । कुनै बाइकको वजार प्रवर्द्धनदेखि विभिन्न
इभेन्टमा आकर्षण थप्न गरिने स्टन्ट शोवाट उनीहरूले आफ्नो खर्च
टारिरहेका छन् ।
मोटर्स स्पोर्ट्सकै एउटा पाटो हो, बाइक स्टन्ट । अतः यो क्षेत्रमा
किशोरीहरूको सहभागितासँगै मोटर स्पोर्ट्समा नयाँ आयाम थपिएको छ
। यसले परोक्ष रूपमा 'लैंगिक विभेद'विरुद्ध छुटै अभियानसमेत छेडेको छ ।
बाइक रेसमा युवती
केहि समयअघि इटहरीदेखि भेडेटारसम्म सञ्चालित बाइक रेसिङ यसकारण
घतलाग्दो थियो कि ती सबैमा युवतीहरू सामेल थिए । उक्त
प्रतियोगिता टाइम, डिस्टेन्स र स्पिड (टिएसडी) प्रणालीअन्तर्गत
गरिएको थियो । क्रस रोड र हिल क्याम्प शैलीको यस्तो रेसिङमा
बाजी मार्न तोकिएको गतिमा पूर्णतः सडक अनुशासन पालना गर्दै
निर्धारित समयमा गन्तव्यसम्म पुग्नुपर्ने हुन्छ ।
यसअघि दशरथ रंगशालाबाट मातातीर्थसम्म, दशरथ रंगशालावाट
धुलिखेलसम्म, काठमाडौंवाट नगरकोटसम्म, काठमाडौंबाट गोकर्णसम्म
छुट्टाछुट्टै प्रतियोगिता भएको थियो । ती सबै संस्करणको रेसिङ
महिलामा केन्दि्रत थिए । २००९ मा पहिलो पटक आयोजित
प्रतियोगितामा ३२ जनाले भाग लिएका थिए भने पाँचौं संस्करणसम्म
आइपुग्दा उक्त संख्या दोब्बरले बढ्यो । स्टन्टका लागि छुट्टाछुट्टै राइडर्स
ग्रुप सक्रिय छन् भने बाइक रेसिङलाई नेपाल अटोमोवाइल स्पोर्ट्स
एसोसिएसन (नासा)ले हाँकिरहेको छ ।
'रेसमान्डु', 'वुमन बाइकर्स च्याम्पियनसिप' जस्ता प्रतियोगिताबाट
मोटर स्पोटर््सका क्षेत्रमा महिलाको सहभागिता बढाउँदै लगिएको छ ।
वुमन पावर इन मोटरसाइकल स्पोर्ट्स
धेरैलाई थाहा नहुन सक्छ, चालू वर्षलाई नेपालमा 'वुमन पावर इन
मोटरसाइल स्पोटर््स-२०१४' घोषणा गरिएको छ । यसअन्र्तगत मोटर
स्पोटर््समा महिलाको सहभागितालाई बढावा दिइने नासाका
महासचिव गोविन्द भट्टराई बताउँछन् । यसो गरिनुको खास उदेश्यचाहिँ
मोटर स्पोटर््सको माध्यमबाट महिला हकहित एवं लैंगिक समानताको
आवाज बुलन्द गर्नु हो ।
यो अभियानअन्र्तगत वर्षभरि विभिन्न स्थानमा पाँचवटा मोटरसाइकल
रेसिङ गर्ने योजना तय भएको छ, जसमा तीनवटा प्रतियोगिता पूरा
भैसकेको नासाले जनाएको छ । बाँकी २ प्रतियोगिता सुर्खेत-पोखरा र
झापा-धनगढीमा हुनेछ ।
यी छुटाछुटै प्रतियोगिताबाट छनौट भएर आएका प्रतियोगिलाई
'राष्ट्रिय खेलाडी'का रूपमा सम्मान गरिनेछ । यसबाट मोटर स्पोटर््समा
महिलाको भूमिकालाई अर्थपूर्ण बनाउन सहयोग पुग्ने नासाको अपेक्षा
छ । 'उनीहरूलाई हामी मोटरसाइकल रेसिङको विविध आयामका
सम्बन्धमा थप तालिम दिनेछौं,' महासचिव भट्टराई भन्छन्- 'जसले गर्दा
उनीहरूलाई व्यावसायिक रूपमै यो क्षेत्रमा लाग्न मद्दत मिल्नेछ ।'
महिला हक हित एवं लैंगिक विभेदविरुद्ध र्याली, सभा, गोष्ठी गर्ने
पुरातन शैली तोड्न पनि नयाँ ट्रेन्ड सुरु गरिएको नासाको जिकिर छ ।
महासचिव भट्टराई भन्छन्-'अबको युगमा पुरानै ढर्राले र्याली, गोष्ठी
गर्नु त्यति प्रभावकारी हुँदैन । जति स्टन्ट, रेसिङजस्ता आधुनिक एवं
चुनौतीपूर्ण शैली अपनाउँदा हुन्छ ।'
रोड सेफ्टी एन्ड लेडी
काठमाडौं विश्वविद्यालयवाट स्नातकोत्तर सकेकी ताहचलकी रेखा
भण्डारीको चिनारी 'सिनियर मार्शल'का रूपमा छ । कुनै पनि रेसिङमा
फ्ल्यागमार्फत संकेत देखाउने काम गर्छन्, मार्शलले । रेखाले श्रीलंकाको
मोटर स्पोटर््स क्लबबाट तालिम लिएकी हुन् । यसका साथै रेखाले 'रोड फर
सेफ्टी' विषयमा अनुसन्धान गरिरहेकी छिन् ।
त्यस्तै, पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट 'टान्सर्पोटेसन
इन्जिनियरिङ'मा स्नातकोत्तर गरिरहेकी नयाँ बानेश्वरकी सुरक्षा
काफ्ले पनि मोटर स्पोटर््सअन्र्तगत 'रोड सेफ्टी' अभियानमा होमिएकी
छिन् । उनले अस्ट्रेलियाको एक संस्थाबाट कार रेसिङको तालिमसमेत
लिएकी छिन् ।
विशालनगरकी समृद्धि श्रेष्ठ सडक सुरक्षाकै अभियानमा सक्रिय छिन् ।
ट्राफिक सिग्नल कसरी फलो गर्ने, जेब्रा क्रसबाट कसरी बाटो
काट्नेजस्ता आधारभूत कुरामा जनचेतनामूलक कार्यक्रम सञ्चालन
गरिरहेको समृद्धि बताउँछिन् । उनीहरू विभिन्न कलेजमा पुगेर यस
किसिमको कार्यक्रम सञ्चालन गरिरहेका छन् । रेसिङ, स्टन्टको
माध्यमबाट पनि सडक अनुशासन र सेफ राइडिङको सन्देश प्रवाह गरिरहेको
सुरक्षाले बताइन् ।
मोटर स्पोर्ट्स ट्रेन्ड
२००८ मा नेपाल अटोमोबाइल स्पोर्ट्स एसोसिएसन स्थापना भएसँगै
नेपालमा संस्थागत रूपमा मोटर रेसिङ थालनी भएको मानिन्छ । यसअघि
कुनै पनि गाडी कम्पनीले व्यापार प्रवर्द्धन एवं च्यारिटीका लागि यस
किसिमका प्रतियोगिता आयोजित गर्ने गरेका थिए । यस किसिमको
ट्रेन्ड मोरङ एलिट क्लबले करिब २ दशकअघि नै सुरु गरेको महासचिव भट्टराई
बताउँछन् । सर्वप्रथम ल्हासाबाट काठमाडौंसम्मको रेस सम्पन्न गरिएको
थियो ।
मोटर स्पोटर््सअन्तर्गत गो कार्ट्स, मोटरसाइकल स्टन्ट, कार रेसिङ
आदिलाई समेटिन्छ । यसको सबैभन्दा उच्चतम स्वरूप भनेको फर्मुला रेसिङ
हो, जुन नेपाल भित्रिएको छैन । फर्मुला रेसिङका लागि ट्रयाक मात्र
होइन, विशेष किसिमले डिजाइन गरिएको कार पनि आवश्यक हुन्छ ।
विश्वमा फर्मुला वानको २० वटा इभेन्ट हुने गरेको छ ।
त्यसकै आधारभूत तह हो, गो कार्ट्स । खासगरी १७ वर्षभन्दा कम उमेरकाले
यसमा सहभागिता जनाउँछन्, अर्थात् फर्मुला रेसिङमा करियर बनाउन
चाहनेहरूले पहिलो खुड्किलोस्वरूप गो कार्ट्समा आफूलाई अभ्यस्त
बनाउनुपर्छ । नेपालमै पनि गो कार्ट्सका लागि आवश्यक पूर्वाधार
निर्माण गर्ने तयारी भैरहेको महासचिव भट्टराई बताउँछन् ।
रेसिङ पनि विभिन्न किसिमको हुन्छ, ट्रयाक, अफ रोड, क्रस कन्ट्री,
हिल क्लाइम्ब । यसमध्ये नेपालको भूगोलअनुसार अफ रोड, इन्डुरान्स, हिल
क्लाइम्ब, क्रस कन्ट्री र अफ रोड रेसिङ अनुकूल मानिन्छ । यहाँ ट्रयाक
रेसिङ उति सम्भव छैन । किनभने त्यसका लागि कम्तीमा ३
किलोमिटरको छुटै ट्रयाक निर्माण गर्नुपर्ने हुन्छ, जुन पूर्वाधार गर्न निकै
खर्च लाग्ने बताइन्छ ।
नेपालमा बाइक तथा कार रेसिङ हुने गरेको छ । यहाँ सामान्य कारलाई
परिमार्जन गरेर रेसिङका लागि प्रयोग गरिँदै आएको छ ।
लेडी बाइक स्टन्ट राइडर्स
खासमा सुवानी थापा फोटोग्राफर वन्न चाहन्थिन् । अहिले उनको
चिनारी बाइक स्टन्ट राइडरका रूपमा छ । मध्यबानेश्वरस्थित किंग्स
कलेजमा अध्ययनरत सुवानी नेपालकै पहिलो स्टन्ट राइडर हुन् । यस्तै, १८
वषर्ीया दीक्षा श्रेष्ठ पनि सक्रिय स्टन्ट राइडर हुन् । होन्डा मोटो
दिवा कप, रेसमान्डु, स्कुटी रेस, राइड विथ एकेएसजस्ता प्रतियोगितामा
आफूलाई अब्बल सावित गरिसकेकी दीक्षा ह्युमन कम्पास, ल्यान्डस्केप
तथा साइड स्केचमा निपुर्ण छिन् । मोडलिङमा रुचि राख्ने दीक्षालाई
सुवानीको संगतले स्टन्ट राइडर बनायो ।
एयर होस्टेज बन्न चाहने भैंसेपाटीकी श्रद्धा श्रेष्ठ पनि स्टन्ट राइडरका
रूपमा चिनिन्छिन् । उनी ल्यान्डस्केप, कम्पास, साइट स्केचबाहेक वर्न
आउट र लेजे वोयजस्ता स्टन्टमा समेत पोख्त छिन् । आयशा डंगोल स्टन्ट र
रेसिङमा सक्रिय छिन् । डंगोल रेसमान्डु, योङ ड्राइभ सेफ्टी ड्राइभ,
होन्डा मोटो दिवा कप, सेकेन्ड क्रस कन्ट्री र्याली आदिमा सहभागी
भैसकेकी छन् । लेडी स्टन्ट राइडरको समूहमा अहिले सविना श्रेष्ठ,
दीपिका श्रेष्ठ, इशिका न्यौपाने र सुलक्षण खड्काको नाम पनि
जोडिएको छ । उनीहरू सबै राइडर्स युनिफाइड ग्रुपका सदस्य हुन् ।
नेपालमा बाइक स्टन्टका लागि टोलटोलमा बाइकर्स क्लब गठन भएका छन्
। राइडर्स युनिभाइडलगायत राष्ट्रिय खेलकुद परिषद्मा दर्ता समेत भएका
छन् । त्यसबाहेक बाइकर्स नेपाल, एडभेन्चर वाइकिङ ग्रुप, धरानको टिम
ओरिसिस, चितवनको सिएचटी राइडर्स, पोखराको पीआरके राइडर्स,
बुटवलमा मम्स राइडर्स, काठमाडौंको नोटोरियस स्पिडियस, भर्टिकल
आउटलज नेपाल आदि सक्रिय छन् ।
दिपेश श्रेष्ठ
सिनियर बाइक स्टन्ट राइडर्स
बाइक स्टन्ट गर्ने त टोलटोलमा भेटिन्छन्, तर यो कति संस्थागत रूपमा अघि
बढिरहेको छ ?
टोलटोलमै स्टन्ट गर्नेहरू छन् तर उनीहरू खासै व्यावसायिक रूपमा लागेका
छैनन् । आफ्नो रहर पूरा गर्न मात्र उनीहरू यसमा सक्रिय छन् । खास
कुराचाहिँ के हो भने स्टन्ट भनेको बाइकलाई उचाल्ने, घुमाउने मात्र होइन,
यसको आफ्नै विधि छ । त्यसैले यसलाई विधिपूर्वक गर्नुपर्छ, जुन कुरा
धेरैलाई थाहा छैन जस्तो लाग्छ । राम्रो कुराचाहिँ उनीहरूले टिम
बनाएका छन्, फेसबुक पेज बनाएका छन् र त्यसलाई व्यवस्थित बनाउने
प्रयासमा लागेका छन् ।
लेडी बाइक स्टन्ट राइडरको अवस्था कस्तो छ ?
केही वर्षयता मात्र नेपालमा लेडी स्टन्ट राइडर अगाडि आएका हुन् ।
अधिकांश मेरै ग्रुप राइडर्स युनिफाइडमार्फत आएका छन् । यो सकारात्मक
कुरा हो । किनभने यसले केटीहरू पनि साहसिक खेलमा अभ्यस्त हुदै गएको
देखाउँछ ।
शारीरिक रूपमा उनीहरूका लागि यो खेल कति अनुकूल छ ?
विश्वमा थुप्रै लेडी स्टन्ट राइडर छन् । उनीहरूलाई शारीरिक रूपमा समस्या
हुँदो हो त स्टन्ट गर्ने थिएनन् होला । यसमा सबैभन्दा मूख्य कुरा एकाग्रता,
अनुशासन, साहस एवं आत्मविश्वास आवश्यक हुन्छ, जसका लागि केटी हुन्
वा केटा केही फरक पर्दैन ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects