पछिल्लो समय नेपालमा स्मार्टफोनका प्रयोगकर्ताहरू अत्यधिक मात्रामा बढिरहेका छन् । फिचर फोन, जसलाई बारफोन पनि भनिन्छ, ग्रामीण भेगका बासिन्दाहरूको रोजाइमा भए पनि सहरी क्षेत्रहरूमा भने स्मार्टफोनको माग अधिक छ । पछिल्लो समयमा स्र्माटफोन व्यवसायिक क्षेत्रका व्यक्तित्वबीच आकर्षण बन्दै गएको छ । नेपालमा बिक्री हुने कुल मोबाइल सेटमध्ये स्मार्टफोनको हिस्सा नै बढी भएको सबैलाई थाहा भैसकेको छ । नेपालको ग्रामीण भेगको ठूलो संख्यामा अझै पनि सामान्य सुविधासहितको फिचर सेट नै प्रयोगमा रहेको बताइन्छ । यद्यपि विभिन्न प्रकारका एप्स इन्स्टल गरेपश्चात् बहुउपयोगी साधनका रूपमा यसको प्रयोग गर्न सकिने भएसँगै नेपालमा पनि स्मार्टफोनको आकर्षण बढ्न थालेको व्यवसायीहरू बताउँछन् ।
अहिले विश्वमा मोबाइल सेट विक्रीको कुल बजारमध्ये एन्ड्रोइड र आईफोनको हिस्सा ९० प्रतिशत रहेको तथ्यांक छ । नयाँ प्रविधिको विकास तथा स्मार्टफोनको मूल्यमा आएको कमीका कारण स्मार्टफोनको प्रयोग बढिरहेको भन्दा फरक नपर्ला । कुनै बेला इमेल, इन्टरनेट र विभिन्न प्रकारका खेलका लागि अत्यावश्यक हुने कम्प्युटर वा ल्यापटपको विकल्पका रूपमा अहिले स्मार्टफोनको प्रयोग हुन थालेको छ ।
पछिल्लो समय मध्यम श्रेणीका स्मार्टफोनको बजार बढ्दै गएको छ । स्मार्टफोन निर्माता कम्पनीहरूले पनि मध्यमस्तरका ग्राहकहरूको मागलाई ध्यानमा राखेर यस्ता किसिमका स्मार्टफोनहरू बजारमा ल्याइरहेका छन् । त्यस्ता निर्माताबीच मध्यमवर्गीय उपभोक्ता लक्षित ‘मिड प्राइस रेञ्ज’का मोबाइल उत्पादन गर्ने प्रतिस्पर्धा नै छ । सामसुङ, हुवावे, जियोनी, माइक्रोम्याक्स, एलजी आदि ब्रान्डका सस्ता मोबाइल यसैका उदाहरण हुन् । यस्ता मोबाइल मूल्यका दृष्टिले सस्ता भए पनि गुणस्तर र कार्यक्षमता भने उच्चस्तरकै जस्ता हुन्छन् । विक्रेताहरूका अनुसार नेपालमा १० हजारदेखि २० हजार रुपैयाँसम्मका स्मार्टफोनको माग बढी छ । निम्न तथा मध्यमवर्गीय उपभोक्ताले यस्ता सेट मन पराउने गरेका छन् ।
सामसुङले पछिल्लो समयमा विश्व बजारमा ग्यालेक्सी एस ६ तथा एस ६ एज उपलब्ध गराएको छ । बिश्व बजारमा पनि यी मोबाइलको क्रेज छ । नेपालमा पनि यी मोबाइल प्रयोग गर्नेहरू धेरै छन्, तैपनि बिक्रीका हिसाबले नेपालमा १० देखि ३० हजारसम्म पर्ने मोबाइल नै बढी बिक्री हुन्छ । सामसुङले पछिल्लो समयमा ल्याएको जे सिरिजका मोबाइल हाल नेपालमा पनि लोकप्रिय भैरहेको नेपालमा सामसुङ मोबाइलको आधिकारिक वितरक आइएमएसका सेल्स हेड राम श्रेष्ठ बताउँछन् ।
रामको कुरामा अन्य मोबाइल व्यवसायीहरूको पनि सहमति छ । नेपाली उपभोक्ताको क्रयशक्ति नै यही मूल्यका मोबाइलमा छ । तिनमा पनि विभिन्न आकर्षक विशेषता भएका विभिन्न कम्पनीका मोबाइल उपलब्ध छन् । के चाहिन्छ त मोबाइलमा त्यस्तो आकर्षक फिचर ? पछिल्लो समयमा धेरैले रोज्ने फिचरमा ‘सेल्फी’ जोडिन पुगेको छ । सामसुङका जे ७ तथा जे ५ मा त सेल्फी लिँदा फ्ल्यास पनि आउँछ । यो एउटा थप फिचर हो । यद्यपि युवा पुस्ताले गुणस्तरीय क्यामेरायुक्त र गेम खेल्न मिल्ने मोबाइलको पनि उत्तिकै खोजी गर्ने श्रेष्ठ बताउँछन् ।
कुनै जमानामा भारतीय मोबाइलको राम्रो बजार थियो नेपाल । नोकियाका फोन प्रयोग गर्नेहरू छ्यास्छ्यास्ती थिए । अहिले नोकियाको जमाना सकिएको छ र बजारमा अनगिन्ती ब्रान्ड उपस्थित छन् । नेपाली बजारमा सामसुङ, हुवावे, जियोनी आदिका धेरै प्रयोगकर्ता देखिए पनि त्यसबाहेक दर्जनौं ब्रान्डको पनि राम्रो बजार छ । ताम्राकार कम्प्लेक्सस्थित जेएस मोबाइलका सञ्चालक जगत साउद रोजाइका फिचर उपलब्ध विभिन्न ब्रान्डका मोबाइल उपलब्ध भएका कारण नेपाली उपभोक्ताका लागि यो एउटा खुसीको कुरा भएको बताउँछन् ।
धेरैले मोबाइलमा वेबमार्फत नेट चलाउन आवश्यक फिचर भएको मोबाइल खोजे पनि मोबाइलका लागि आवश्यक एसेसरिज प्रयोग गर्नेहरू पनि बढिरहेका छन् । मोबाइलका कुनै डिस्प्ले सेटभन्दा पनि महँगा हुन्छन् । मोबाइल खस्दा वा ठोक्किँदा यस्ता डिस्प्लेले फोनलाई सुरक्षित राख्न सहयोग गर्छन् । सुन्धारामा मल्टिब्रान्ड शोरुमका रूपमा सिटी टेक्नोलोजी ट्रेड सेन्टर सञ्चालन गरिरहेका प्रकाश श्रेष्ठ पछिल्लो समयमा प्रचलित एन्ड्रोइड भर्सनका मोबाइल फोन नै नेपालमा पनि धेरैले रोज्ने बताउँछन् । जावलाखेलस्थित युनिभर्सल मोबाइल सेन्टरका सञ्चालक जीतेन्द्र महर्जनका अनुसार हरेक ब्रान्डेड मोबाइलले आवश्यक एसेसरिज समेत उपलब्ध गराउँछन् । खासगरी मोबाइल कभर प्रयोग गर्नेहरू धेरै हुन्छन् । यसको बजार राम्रो पनि छ । त्यसैगरी चार्जर, ब्याट्री तथा स्टिकर पनि धेरै प्रयोग हुने एसेसरिज मानिन्छन् । ब्लुटुथ प्रयोग गरेर फोन गर्ने वा म्युजिक सुन्नेहरू पनि त्यत्तिकै बढिरहेका छन् । पछिल्लो समयमा मोबाइलको सुरक्षाका लागि टेम्पर ग्लासको प्रयोग हुन थालेको छ । हेर्दा प्लास्टिक जस्तो देखिए पनि यो अलि बाक्लो हुने र मोबाइललाई सुरक्षित राख्न सहयोग पुर्याउने महर्जनले बताए । एसेसरिज प्रयोग गर्नेहरू बढ्दै जाँदा व्यवसायमा पनि वृद्धि भैरहेको महर्जनले बताए ।
पुराना पुस्तकदेखि पुराना गाडीसम्म किनबेच गर्ने संस्कार भएको नेपालमा पुराना मोबाइल किनबेच गर्नु पनि के अनौठो भयो र ? धेरैलाई थाहा नहुन सक्छ, हाल राजधानीमा पुराना मोबाइलको किनबेच पनि राम्रैसँग भैरहेको छ । ताम्राकार कम्प्लेक्सस्थित सामसुङ मोबाइल एन्ड इलेक्ट्रोनिक्सका सञ्चालक गुरुदत्त शर्माले सबै ब्रान्डका मोबाइल एक्सचेन्ज अर्थात साटफेर गरिरहेका छन् । पछिल्लो समयमा अन्य मोबाइलको तुलनामा सामसुङ र हुवावेका पुराना मोबाइल खरिद गर्न चाहनेहरू बढिरहेका छन् । बजारमा नयाँ–नयाँ मोडलका मोबाइल आइरहने हुनाले पहिले प्रयोग गरिरहेकाहरूले नयाँ मोबाइल किन्न चाहन्छन् भने आफूसँग थोरै पैसा भएकाहरूले महँगो मोडलको पुरानै भए पनि उपयुक्त कन्डिसनको मोबाइल किन्न चाहन्छन् । यसका लागि गुरुदत्त शर्माजस्ता व्यवसायी माध्यम बनिदिन्छन् । त्यसबाहेक अन्य ब्रान्डका मोबाइलको पनि किनबेच भैरहन्छ । यद्यपि यसका लागि मोबाइल सेटको बक्स र बिल हुनु आवश्यक छ । बक्स र बिल भए नै यो जेन्युइन सामान हो भन्ने कुरा थाहा हुन्छ ।
पुराना मोबाइलको किनबेचको बजार राम्रो भएकैले मोबाइल विक्रेताहरूले कम्पनीकै आधिकारिक एक्सचेन्ज सेन्टर पनि स्थापना गरेका छन् । सामसुङले यस्ता पुराना मोबाइल खरिद गरेर ग्राहकलाई नयाँ मोबाइल उपलब्ध गराउँछ । कतिपय पुराना मोबाइल नेपालमा बिक्री नभए अन्य देशमा समेत पठाइन्छ । मध्यपुर्वका कतिपय देश यस्ता मोबाइल बिक्रीका लागि राम्रो बजार भएको आइएमएसका मार्केटिङ हेड आयुश श्रेष्ठ बताउँछन् ।
मोबाइलको राम्रो बजार भएको र प्रतिस्पर्धासमेत बढेकाले कम्पनीहरूले आफ्नो आधिकारिक सर्भिस सेन्टरसमेत स्थापना गरेका छन् । माइक्रोम्याक्स र भिडियोकोनको आधिकारिक सर्भिस सेन्टरका रूपमा कार्यरत इलेक्ट्रोनिक्स कन्सर्न एन्ड रिपेयर सेन्टरका सन्जित पौडेल यस्ता सर्भिस सेन्टरमा जेन्युइन सामग्री प्रयोग गरिने र उपभोक्ताले ब्रान्डप्रति बिश्वस्त हुने आधार प्राप्त गर्ने दाबी गर्छन् । बजारमा डुप्लिकेट सामग्री प्रयोग गर्ने सम्भावना पनि प्रशस्तै भएकाले यस्ता आधिकारिक सर्भिस सेन्टरमा वारेन्टीयुक्त सामग्री प्रयोग गरिने उनले बताए ।
मोबाइल बोक्ने संस्कृतिमा पनि विस्तारै परिवर्तन आइरहेको छ । एउटा ब्यक्तिले कति समयमा मोबाइल फेर्छ होला ? मोबाइल व्यवसायीहरूका अनुसार सामान्यत: मोबाइलप्रति अलि क्रेजी मानिसले ६ महिनामा र अन्यले एकदेखि डेढ वर्षमा मोबाइल फेर्छन् । विश्व बजारमा प्रचलित मोबाइलका ब्रान्डले नयाँ मोडल ल्याउनासाथ नेपालमा तुरुन्तै खोजी गर्नेहरू पनि बढिरहेका छन् । यद्यपि आधिकारिक रूपमा भन्सार नतिरी भित्रिएका अर्थात ग्रे मार्केटमार्फत आउने मोबाइल सेटको संख्या पनि बढिरहेको छ । यसका कारण सरकारको राजस्वमा असर पर्ने, व्यवसायीको व्यवसायमा असर पुग्ने एवं स्वयं ग्राहकले पनि वारेन्टी सुविधा नपाउने भएकाले मोबाइल बिग्रिए समस्या सिर्जना हुने जस्ता विभिन्न समस्या निम्तिरहेको कुरामा भने सबैको ध्यान जानु आवश्यक छ ।
नेपालमा मोबाइल बजारको सम्भाव्यता बढ्दै गएको छ । कुनै समयमा राजधानीको न्युरोडलाई मोबाइल हब मानिन्थ्यो, तर पछिल्लो समयमा अन्य स्थानमा समेत मोबाइल बजार विस्तार हुने क्रम बढिरहेको छ । हालै मात्र लगनखेलमा ललितपुर मोबाइल कम्प्लेक्स स्थापना भएको छ । यहाँ सबै ब्रान्डका गुणस्तरीय मोबाइल खरिद गर्न सकिन्छ । ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेत मोबाइल फोनको बजार विस्तार भएसँगै ग्राहकलाई गुणस्तरीय सुविधा उपलब्ध गराउन मोबाइल बजारको समेत विस्तार भैरहेको बताउँछन् । व्यवसायीहरूले एकताबद्ध भएर आफ्नो व्यापारको दायरा फराकिलो बनाइरहेका कारण ग्राहकलाई पनि उनीहरूको घरदैलोमै सुविधा उपलब्ध हुने बस्नेतको विश्वास छ ।



0 comments:
Post a Comment