प्रिय पशुपति


गौशालाका देव पशुपतिनाथ र स्याङ्जामा जन्मिएका मानव पशुपतिनाथसँग केही कुरा गजबसँग मिल्छन् । स्याङ्जाका पशुपतिनाथ भनेका लोकप्रिय लोकदोहोरी गायक पशुपति शर्मा हुन् । उनको नागरिकताको नाम पशुपतिनाथ शर्मा हो । संसारभरका हिन्दूहरूका आराध्यदेव पशुपतिनाथ भएकै मुलुकमा जन्मिएका पशुपतिनाथ शर्मा अहिले सर्वाधिक सफल गायक सावित भएका छन् । संयोग, महानपर्व तीजमा नेपाली नारीहरू पशुपतिनाथको आराधना गर्छन् र पशुपतिनाथ शर्माको गीतमा कम्मर मर्काउँछन् । ‘पिताजीले राखिदिएको नाम संयोगले मिलेको छ’ पशुपतिनाथ मन्दिर परिसरमै गफिँदै पशुपतिले भने– ‘दाइको विश्वनाथ मेरो पशुपतिनाथ राखिदिनुभएछ, समय क्रममा म पशुपतिलाई नै लक्षित गरेर मनाइने तीज पर्वका गीतको सर्जक बन्न पुगे ।’ त्यसो त पशुपतिले अहिलेसम्म पशुपति परिसरमा परिक्रमा गर्ने बाहेक पूजाआजा गरेका छैनन् । पशुपतिले थपे– ‘त्यसैले म मन्दिरको भगवान पुज्नेभन्दा पनि आत्माशुद्ध गरेर मनको भगवानलाई सधैं प्रार्थना गर्छु— सधैं राम्रो र असल कार्य मात्र गर्नुपरोस् ।’

यो वर्ष पशुपतिले नाच्ने किसिमकै ९ वटा तीज गीत महिला गायिकाहरूका साथमा गाएका छन् । समसामयिक विषयमा आधारित गीत गाउने पशुपतिले ‘डान्स बिट’ का को नाचेर थाक्ने, आइज कान्छी कति पैसा राख्ने जस्ता गीत पनि गाएका छन् । उनका गीत अरूका भन्दा केही फरक हुन्छन्, शब्दमा मात्र होइन, संगीतमा समेत फरकपन भेटिन्छ । खासकुरा त अपवादबाहेक उनी अरूले सिर्जना गरेका गीत–संगीतमा गाउँदैनन् पनि । ‘मेरो आफ्नो शैली कायम रहोस् भनेर आफैंले गीत सिर्जना गरेका गीतमात्र गाएको हुँ,’ पशुपति भन्छन्– ‘फेरि सबै गीतमा मेरो स्वर फिट नहुन सक्छ भनेर सचेत रहन्छु ।’ यो वर्षे प्रस्ताव आएअनुरूप सबै तीज गीत गाएको भए ५० वटा गीत हुने पशुपति बताउँछन् । पशुपति भन्छन्– ‘मैले आफ्नो बाहेक अरूको गीत नगर्ने नै निर्णय लिनु बुद्धिमता हुने मानें ।’ गीत लेख्ने देखि संगीत एवं स्वर भर्ने र म्युजिक भिडियो निर्माणसम्ममा आफ्नो सिर्जनात्मक क्षमता उपयोग गर्छन् पशुपति । गाएका सबै गीतमा उनको अभिनय पनि हुन्छ ।

गत वर्ष एकदर्जन तीज गीत गाएका पशुपतिका अनुसार अर्को वर्ष उनी बढीमा ५ वटा मात्र तीज गीत तयार गर्नेछन् । संख्यात्मक रूपमा धेरै गीत गाउनेभन्दा पनि उत्कृष्ट ५ गीत गाउनु ठीक हो भन्ने लाग्न थालेको छ उनलाई । यो वर्ष पशुपतिले देविका केसीसँग तेरो तागत माने पैसो, जानकी तारामी मगरसँग पानी पुरी चटपटे, शान्तिश्री परियारसँग झाँक्री बा, अनिता चलाउनेसँग नाचिदेऊ मैया भाँचिदेउ कम्मर, सुनिता परियारसँग मेरा बूढाको के मिलेन के, जमुना सनमसँग मै राम्री छैन र भन्देऊ न मायालु, चन्द्रा कार्कीसँग सलल राम्चेको पहिरो झलल बेनीको बजार, सम्झना लामिछानेसँग ल आउ नाचेर को थाक्ने ?, पार्वती क्षेत्रीसँग तीजमा सम्झना माइती घरको गीत गाएका छन् । जसमध्ये अधिकाशं गीत हिट छन् । सबै गीतको युट्युब भ्युअर्स रेकर्ड पनि राम्रो छ ।

तीजे गायक भनेर लाग्ने ट्यागका सम्बन्धमा पशुपति ठाडै असहमति जनाउँछन् । ‘अरू पुरुषले पनि तीज गीत गाएका छन्, तर खै किन हो आरोपचाहिँ मलाई मात्र लाग्छ,’ पशुपति भन्छन्– ‘तीजको सन्दर्भ पारेर मैले फरक–फरक परिवेशका गीत गाएको हुँ, कतिपयले तीजमा उच्छृखंलता भित्र्याए, त्यसपछि विकृति आयो अनि आरोप चाहिँ मलाई लाग्यो ।’ पशुपतिका अनुसार उनले अहिलेसम्म प्राप्त गरेका सबै प्रतिक्रिया सकारात्मक छन् । आलोचना हुन सक्छ तर गाली खानुपर्ने अवस्था अहिलेसम्म झेल्नुपरेको छैन, पशुपति भन्छन्– ‘दर्शक श्रोतालाई चित्त नबुझ्ने किसिमको गीत भयो भनें बरु म आफैं बन्द गर्छु ।’ गत वर्ष जातीय भेदभावविरुद्ध देविका केसी र उनले गाएको तीज गीत हामी नेपाली हौं विवादमा तानिएपछि त्यसको प्रवद्र्धन नगरेको अनुभव पशुपतिले सुनाए । रिझाएकै कारण दिदी–बहिनीहरूको अपार माया पाएको बताउने पशुपति सबैको प्यारो गायक बनिरहन निरन्तर मेहनत गर्ने कुरा बताउँछन् । सस्तो चर्चाका निम्ति संगीत सिर्जना नगर्ने प्रण पनि पशुपतिले गरेका छन् । शर्मा भन्छन्– लोकगीत होस् वा तीज गीत त्यसले लोकको मर्म र भावलाई बोक्नुपर्छ, विद्यमान सामाजिक परिवेशलाई प्रतिनिधित्व गर्न सक्नुपर्छ, साथसाथै सन्देशमूलक पनि हुनुपर्छ ।’ दिदी–बहिनीहरूले नाच्ने क्रममा गीतको भाव बुझिदिए आफ्नो मेहनत सार्थक हुने पशुपति बताउँछन् ।

पशुपति आफूलाई सर्वश्रेष्ठ गायकका रूपमा पनि चिनाउन चाहँदैनन् । शर्माका अनुसार उनीभन्दा राम्रो स्वर भएका थुप्रै गायक छन् तर फरक किसिमको सिर्जना र स्वरका कारण उनी चलेका हुन् । ब्लकबस्टर हिट गीत ‘काम पाइएन डिग्री पास गरेर, भैंसी पाले गाउँतिर झरेर, चिन्ता छैन केही मलाई अमेरिका यै, मलाई जापान पनि यै, मलाई बेलायत नि यै’ का गायक पशुपतिको पोखरा फेवाताल घुम्नलाई शीर्षकको अर्को गीतका युट्युब भ्युअर्स १८ लाख छन् । हाल गायिका देविका केसीका साथ क्यानाडामा प्रस्तुति दिइरहेका पशुपतिका अधिकाशं गीत युट्युबमा ५ लाखभन्दा बढीले हेरेका छन् । अहिले त बजारले नै पशुपतिको स्वरको नयाँ गीत कस्तो आएछ भनेर सर्च गर्न थालिसकेकाले पनि उनका सबै गीत दर्शकश्रोताको रोजाइमा पर्छन् । पशुपतिले गायन क्षेत्रमा सक्रियता बढाएको ०५८ सालदेखि नै भएपनि औपचारिक रूपमा संगीत उद्योगमा उनको नाम चल्न थालेको ०६५ सालदेखि हो । ०६० सालमा स्याङ्जा माथि बन गाएर उनको सांगीतिक यात्रा सुरु भयो तर उनको हिट हुन भने ०६५ सालसम्म कुर्नुपर्‍यो ।

०६५ सालको तीजमा उनले राधिका हमालसँग आफ्नै शब्द र भाकामा टलक्कै ऐना टल्कियो, ख्याल गर जोवन ढल्कियो गाए । यो गीत र म्युजिक भिडियो बजारमा खुब जम्यो । आशिष म्युजिकका रामजी पन्तको आग्रहमा क्यारम अचम्मै राम्रो नाच्छे मोरीले, क्यारम मरक्कै कम्मर भाँच्छे मोरीले गीत बनाए । उक्त गीत पनि हिट भयो । ०६५ सालपछि नै फरक शैलीका दोहोरी गीत सिर्जना गर्ने ट्ेरन्ड पनि उनैले सुरु गरे । बल्ल पो पिर पर्न थाल्यो, यसै हो र घर यस्तो भएको आमा नै गतिली छैन, छोरीले के मान्थी भनेको शीर्षकको व्यंग्यात्मक गीत बनाएर उनले आफ्नो सिर्जनात्मक क्षमताको परिचय दिए । सामाजिक परिवेशकै क्याम्पस पढ्न आउने सरले उता पढाउने हाम्ले आँखा जुधाउने चित्त बुझाउने गीत त झनैं सुपरहिट भयो । हालसम्म २५ वटा एल्बम र कुल १० दर्जन दोहोरी रचिसकेका पशुपतिका हरेक गीतमा विगत र वर्तमानलाई ठट्यौले ढंगले अभिव्यक्त गरिएको छ । ०६० सालमा १ लाख राशिको राष्ट्रिय लोकदोहोरी प्रतियोगितामा भाग लिएर उनी फाइनलसम्म पुगेका थिए । यस्तै चलचित्र विकास बोर्डले आयोजना गरेको दोहोरीमा पनि उनी प्रथम भए । राष्ट्रियस्तरका १७ वटा स्पर्धामध्ये ११ मा प्रथम भएका पशुपति बाँकीमा द्वितीय भए । उनका तीज गीतमा माइतीका विरह र जिरहका शब्द छोडेर अहिलेका नारीका यथार्थपरक जीवनशैली उतारिएको हुन्छ । पशुपति भन्छन्– ‘यो शैलीलाई स्थापित गर्न मैले निकै मेहनत गर्नुपर्‍यो, विषयवस्तुको गहिरो ज्ञान र संगीतमा पनि नयाँ किसिमको प्रयोग नगरेको भए सम्भवत: म यो पशुपति शर्माका रूपमा चिनिने थिइनँ ।’

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects