आश्विन ६, २०७२-
हामी वीर छौं । यो कुरा भूपी शेरचनलाई मात्र होइन, सबै नेपाली
जनतालाई थाहा छ तर हामी बाठा छौं भन्ने कुरा भूपि शेरचनलाई थाहा
थिएन । नेपालीहरूको बाठोपन देख्न नपाई प्रसिद्ध कवि भूपी शेरचनले
देहत्याग गरे । उनले नेपालीहरूको बाठोपन देखेका भए अर्को कविता अवश्य
लेख्ने थिए होला । नेपालमा भूपी शेरचनलाई आदर्श मान्ने धेरै कवि छन्,
आशा छ, यो बाठोपनका विषयमा केही कविता अवश्य लेखिनेछन् । जस्तो
:
नेपालमा १० वर्षे सशस्त्र युद्ध भयो । १७ औं हजार मानिस मरे । बेपत्ता,
घाइते, बसाइसराइँ र ती बीचमा भएका अमानवीय कृत्यहरूको कुरै नगरौं ।
त्यसैका आधारमा धेरै मानिस रातारात स्टार भए । केही चर्चित
व्यापारी र केही धनाढ्य राजनीतिज्ञ भए । यी कुरा आजभोलि
सामान्यझैं लाग्न थालेका छन् । जनयुद्धको नाममा भएको एउटा विषय
भने थोरैलाई मात्र जानकारी छ । त्यो के भने ‘जनयुद्ध’ पीडितका नाममा
धेरै नेपालीले युरोप, अस्ट्रेलिया, अमेरिका र क्यानाडाको स्थायी
बासिन्दा हुने मौका पाए । प्रहरीले मार्न खोजेको, सेनाले ‘सर्च’ गरेको
वा माओवादीले कारबाही गर्ने लिस्टमा राखेको समाचार छापाएर धेरै
नेपालीले विकसित देशका ग्रिनकार्ड प्राप्त गरे । यत्रो वर्षपछि पनि
नेपालमा बस्ने नेपाली अवस्था १०–१५ वर्षअघि भन्दा गए–गुज्रिएको
देखेपछि उनीहरूले भन्ने गरेका छन्, ‘धन्न बेलैमा बुद्धि पुर्याइएछ । फर्किएर
हेर्दा त जनयुद्धकै कारण हाम्रो जीवन सफल भएको रहेछ ।’
००००
माओवादीको सशस्त्र संघर्षजस्तै वैशाख १२ र २९ मा गएको भूकम्प पनि
‘बाठा नेपाली’हरूका लागि विदेश जाने माध्यम हुन थालेको छ । सामान्य
भूकम्पपीडितहरूले अझै पनि बस्ने घर पाएका छैनन् । काठमाडौंमा बस्ने
टाठा–बाठा कलाकार, व्यवसायी एवं विदेश जान चाहनेहरूका लागि भने
‘भूकम्पपीडित’ हुनु खुसीको कुरा भएको छ । विभिन्न जिल्लामा
भूकम्पपीडितको कार्ड बनाउने लस्कर नै लागेको छ । पीडितभन्दा बढी
कार्ड वितरण हुन थालेको छ र भित्रभित्रै उनीहरू विदेश पनि जान
थालेका छन् । केही समयअघि भूकम्पपीडित भएको खबर छापिएका एक
जना कलाकार अहिले क्यानाडा पुगेका छन् । फेसबुकमा आफू क्यानाडा
पुगेको खबर सुनाएलगत्तै ती कलाकारले मुख खोलिहाले, ‘यत्रो वर्ष विदेश
बस्न संघर्ष गरियो, भूकम्पले त्यो अवसर जुराइदियो ।’
००००
भूपी शेरचनले लेखेका थिए— हामी वीर मात्र होइन, बुद्धू पनि छौं ।
नेपालीहरूको यो बाठोपन देखेका भए उनले पक्कै हामी पीडाका
घटनालाई पनि कसरी सदुपयोग गर्छौं भनेर पक्कै अर्को कविता लेख्ने थिए
।



0 comments:
Post a Comment