आशिष लाग्छ–लाग्दैन, श्रापले काम गर्छ–गर्दैन,
पाप हुन्छ–हुँदैन, स्वर्ग पुगिन्छ–पुगिन्न, नर्क
भोगिन्छ–भोगिन्न, यस्ता थुप्रै प्रश्नको
वैज्ञानिक उत्तर धेरै मानिसलाई थाहा छैन । होस्
पनि कसरी, जबकि आशिष लागेर माथि पुगेको
वैज्ञानिक उदाहरण कुनै छैन, श्रापले पोलेर तल झरेको
भरपर्दो कुनै तर्क पनि छैन । जीवनमा भोगिने सुख,
दु:ख, आरोह, अवरोहलाई नै स्वर्ग र नर्क भनिएको हो
भने त मान्न सकिएला, तर अर्को लोक र परलोकका
कुरो हो भने विश्वास गर्न गाह्रै हुने गजुरियल ठम्याइ
छ ।
वैज्ञानिक पुष्टि नभए पनि हामी आशिष लिने–दिने गर्छौं । त्यसमा पनि दसैंमा
सबैभन्दा धेरै आशिषको लेनदेन हुन्छ । मनोज विज्ञान भन्छ, एउटा मानिसले आफ्नो
चेतनाको गहिराइबाट अर्को मानिसको चेतनालाई छुन सक्ने गरी दिइने आशिष
साँच्चै लाग्न सक्छ ।
दसैंतिहार त एउटा माध्यम हो, तर आशिष जसले, जहाँ र जहिले पनि दिन सकिन्छ, बस्
त्यो अन्तरआत्माको गहिराइबाट सफा मनले दिइएको हुनुपर्छ ।
त्यसै पनि मेरो त यो वर्ष टीका लगाउन मिल्दैन । मिल्नेहरूका लागि पनि यो दसैं
त्यति सहज हुँदैन । बन्दले भताभुंग भएको नेपाल टुंगोमा आइसकेको छैन । नाकाबन्दीले
थिलथिलो भएका नेपाली सामान्य अवस्थामा पुगेकै छैनन् । यस्तो अवस्थाको दसैं
मोज र भोजसहित होइन, खोज र होससहित हुनुपर्ने गजुरियल ठम्याइ छ । खोज यो
हुनुपर्यो कि यसपटक हामीलाई कस्ता–कस्ता होसपूर्ण आशिष चाहिएको छ भन्ने
कुराको गजुरियल विश्लेषण निम्न प्रकार छ ।
हामीले नेताहरूलाई लामो समयसम्म भाते भनिरह्यौं । उनीहरूले पनि भात खाएर
गोब्य्राइरहनेबाहेक अरू कुनै काम गरेनन् तर पछिल्लो समयमा जस्तो चट्टानी अडान
लिएर हस्तक्षेपकारी ठूल्दाइलाई ठेगान लाउने काम गरे हाम्रा नेताहरूले, त्यसले
निरन्तरता पाओस्, कुनै मोडमा पुगेर चट्टान नफुटोस् भन्ने कामना अहिलेको
आवश्यकता हो । मनको कुन्तरबाटै यो कामना हामीले गर्यौं भने त्यो साँच्चिकै
पुग्नेछ । सहकार्य र सहमतिको बाटोबाट जो मोडिन्छ, त्यो बीचबाटोमै छोडिन्छ,
भन्ने विवेक पलाउनेछ ।
दुर्गा पूजा, हिन्दूहरूको महान् चाड । हिन्दुस्तानका बडे भैयालाई दुर्गा माताले
आशिष दिउन् कि उनीहरूको बुद्धि सप्रियोस् । बालुवाटारमा राम–राम जप्दै
बालकोटमा छुरा नबोक्ने सुबुद्धि पलाओस् । अर्काको घरमा आगो झोसेर आफू
आनन्द मनाउन सकिँदैन भन्ने ज्ञान प्राप्त होस् । मोदी दादा दुर्गा माताका
अनन्य भक्त रहेकाले पक्का पनि यसले हामी सबैको हित गर्नेछ ।
नेपालीहरूको बानी चाँडै खुसी हुने र छिट्टै रिसाउने छ । यो बानी अग्रगमनका
लागि हानिकारक हो । खुसी र रिसका बीचको अवस्था सचेतनासहितको
क्षमामा अडिग रहने सद्बद्धि आओस् । विष नभएको सर्प र ईख नभएको मान्छे काम
लाग्दैन । वैदेशिक हस्तक्षेप हुँदा रिसको पारो बढ्ने, नहुँदा बुद्ध बनिहाल्ने बानी
बदलियोस् । भूकम्प आउँदा चेत्बाबा हुने, गइसकेपछि पुन: लोभ–मोहको दलदलमा पुग्ने
बानी हटोस् । त्यसको ठाउँमा क्षमा दिने तर चनाखो भैरहने, नरम बन्ने तर परेको
बेला गरम हुने बानी लागोस् भन्ने आशिष अहिलेको अत्यावश्यक आशिष हो भन्ने
गजुरियल ठम्याइ छ ।
हामी नेपालीहरूको बिर्सने बानी अचम्मकै छ । यो बानी सबैभन्दा बढी नेताहरूमा
हुन्छ । देशको मैलो पखाल्न विदेशीको दैलो चहार्ने बानी यो पटक स्वात्तै घट्यो तर
त्यो पनि जनताको दबाबले घटेको हो । नानीदेखि लागेको बानी कुनै बेला ह्वात्तै
बढ्न सक्छ । नेतामा जिम्मेवारी तथा जनताका खबरदारीको संस्कृति कायम रहोस्,
बिर्सने बानीको अन्त्य होस् भन्ने आशिष पनि अहिले प्राथमिकतामा परोस् ।
हामीमा परावलम्बन संस्कृतिको अन्त्य होस् । यसपटकको नाकाबन्दीमा हामीले
देख्यौं, नेपालीमा परजीवी मनस्थिति कति रहेछ भन्ने कुरा । कोही भारतलाई
चिढाएर नेपालको हित नहुने तर्क गर्थे । कोही भारत छोडेर चीनसँग बलियो सम्बन्ध
गर्नुपर्ने भाव राख्थे । चीन र भारतले साथ नदिए अमेरिकालाई आफ्नो बनाउनुपर्छ
भन्थे । आफ्ना लागि आफैं विकल्प बन्ने सद्बुद्धि सबैलाई आओस् । यो छिमकीसँग
नजिक, त्योसँग टाढा भन्दा पनि सबैसँग समदूरीको सम्बन्ध राख्ने तर भरचाहिँ
आफूबाहेक अरूसँग नराख्ने क्षमताको विकास होस् । यो दसैंमा हामीले एक–
अर्कालाई यही शुभकामना दिनुपर्ने गजुरियल ठम्याइ छ ।



0 comments:
Post a Comment