दसैंको पूर्वसन्ध्यामा नेपालीले भारतको अघोषित नाकाबन्दीको सामना
गर्नुपर्यो । यो समयमा नेपालीहरूले फेरि एकपटक सवारी साधनका रूपमा साइकलको
महत्व बुझ्ने मौका पाए । आफूसँग भएकाले आफ्नो साइकल प्रयोग गरे भने नभएकाले
किनेर पनि प्रयोग गरे । असोज लागेपछि साइकलको व्यापार ४० प्रतिशतले बढेको
व्यवसायीहरू बताउँछन् । सडकमा देखिएका साइकलको संख्याले पनि उनीहरूको
भनाइलाई पुष्टि गर्छ । यही समयमा नेपालमा पहिलेदेखि नै प्रचलित साइकलको
बिक्री बढ्यो भने कतिपय नयाँ ब्रान्डका साइकल पनि भित्रिए ।
राजधानीमा ३ हजारदेखि ३ लाख रुपैयाँसम्मका दर्जनौं ब्रान्डका साइकल उपलब्ध
छन् । त्यसैगरी ३० हजारदेखि ६० हजार रुपैयाँसम्ममा ब्रान्डेड साइकल किन्न सकिन्छ
। विपन्नदेखि उच्च वर्गका ग्राहकहरू साइकलतर्फ आकर्षित छन् । साइक्लिङ
संस्कृतिको विकास भएकाले आफ्नो शरीर स्वस्थ राख्न साइकल प्रयोग गर्नेहरू
प्रशस्तै छन् । नेपालमा अफरोड साइकलसमेत निकै प्रचलित छन् । एड्भेन्चर, ट्राभल र
टुर्समा रमाउनेहरूलाई लक्षित गरेर पनि प्रशस्तै साइकल नेपाल भित्रिएका छन् ।
लाजिम्पाटस्थित काठमाण्डु बाइक स्टेसन त्यसकै एउटा उदाहरण हो । यसले लामो
समयदेखि ट्रेक बाइक उपलब्ध गराउँदै आएको छ । खासगरी मनाङ, मुस्ताङजस्ता
रमणीय स्थानमा साइकलमै रमाउन चाहनेहरूका लागि यी साइकल निकै लोकप्रिय
छन् । त्यबाहेक बिहान साइक्लिङ गरेर आफ्नो वरिपरिका डाँडाकाँडा चहार्ने र अरू
समयमा अन्य सवारी साधन प्रयोग गर्नेहरूका लागि यस्ता साइकल निकै उपयोगी
छन् । धेरै मोडलका साइकल उत्पादन भए पनि नेपालका लागि ट्रेकिङमा उपयुक्त हुने
ट्रेक बाइक मोडलका साइकल मात्र उपलब्ध गराएको काठमाण्डु बाइक स्टेसनका
बुद्ध लामा बताउँछन् । गत नोभेम्बरसम्म २०१५ मोडलका साइकल ल्याएर बिक्री
गरेको र अब २०१६ मोडलका साइकल बिक्री गर्ने योजना रहेको उनले बताए । यस्ता
साइकलको मूल्य सामान्यत: ६५ हजारदेखि २ लाख रुपैयाँसम्म भएको लामाले बताए
।
भारतको हिरो इको टेक कम्पनीले उत्पादन गरेको क्रस बाइकलाई गोल्छा
अर्गनाइजेसनअन्तर्गतको मेभेरिकले भित्र्याएको छ । बालबालिकाका लागि
उपयुक्त साइकलदेखि माउन्टेन बाइक र डिस्क ब्रेक भएका साइकलसमेत कम्पनीले
उपलब्ध गराएको छ । ६ हजारदेखि ५० हजार रुपैयाँसम्मको रेन्जमा उपलब्ध यी साइकल
१ वर्षको वारेन्टीसहित बिक्री भैरहेको मेभेरिकका सिइओ दिनेशकुमार शर्मा
बताउँछन् । विभिन्न ३५ वटा मोडलका साइकल नेपाल भित्र्याइएको र
बिक्रीपछिको सेवासमेत उपलब्ध गराइएकाले यसको बजार राम्रो हुने शर्माको
दाबी छ । बीचमा साइकलको कुनै सामान बिग्रियो भने पनि साट्न सकिने
भएकाले यी साइकललाई धेरैले रुचाउने अनुमान गरिएको छ ।
भोटाहिटीस्थित अमेरिकन मरिन ब्रान्डका साइकल बिक्री गर्दै आएका
व्यवसायी स्कन्द अमात्य पछिल्लो समयमा साइकलको व्यापार चार गुणाले बढेको
बताउँछन् । संसारमा माउन्टेन बाइक संस्कृतिको विकास गर्ने श्रेय यही साइकललाई
जान्छ । माउन्टेन बाइकिङका लागि प्रसिद्ध यी साइकल लिएर मनाङ–मुस्ताङ
आदि स्थानमा जानेहरू पनि प्रशस्तै छन् । त्यसैगरी नेपालकै पुरानो साइकल
विक्रेताका रूपमा परिचित भोटाहिटीकै पञ्च अष्ट नारायण ट्रेडिङका तिरिक
मानन्धर आफूहरूले अमेरिकी ब्रान्डको फोनिक्स साइकल बिक्री गरिरहेको
बताउँछन् । पछिल्लो समयमा यी साइकलको बिक्री पनि निकै बढेको छ ।
गत आर्थिक वर्षमा वीरगन्ज नाकाबाट ३५ करोड ३५ लाख रुपैयाँ बराबरको १ लाख
२५ हजार ९९ थान साइकल, ट्राइसाइकल, डेलिभरी साइकल आयात भएका थिए ।
अघिल्लो आर्थिक वर्षमा २५ करोड १ लाख ४ हजार रुपैयाँ बराबरको १ लाख २२
हजार ८ सय ८६ थान साइकल, ट्राइसाइकल तथा डेलिभरी साइकल आयात भएका
थिए । सीमावर्ती क्षेत्रका कतिपय वासिन्दाले नेपाली बजारमा भन्दा भारतमा
सस्तो पर्ने भएकाले उतै गएर साइकल किन्ने गरेका छन् । यसले गर्दा भन्सारमा देखिने
तथ्यांकभन्दा लगभग दोब्बर साइकल आयात हुने अनुमान छ ।
अहिले पनि तराई क्षेत्रमा सर्वाधिक प्रयोग हुने सवारी साधन साइकल नै हो ।
सहरोन्मुख ग्रामीण क्षेत्रमा पनि यसको प्रयोग बढ्दो छ । साइकल आयात गर्दा ५
प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ । वीरगन्ज मात्र नभई
तराईका अन्य नाका भैरहवा, मेची, विराटनगर, नेपालगन्ज आदि स्थानबाट पनि
प्रशस्तै साइकल आयात हुन्छन् ।
गत आर्थिक वर्षमा मात्र नेपालले इन्धनका लागि १ खर्ब १० अर्ब रुपैयाँ खर्च गरेको छ
। नेपालमा साइकल पनि बन्दैन । यद्यपि साइकल आयात गर्दा इन्धनमा हुने खर्चमा
कमी आउँछ र वातावरणीय दृष्टिकोणले समेत फाइदा पुग्छ ।
सन् १८३९ तिर कर्कप्याट्रिक म्याकमिलनले आविष्कार गरेको साइकलको उत्पादन
विश्वमा आज पनि अरू सबै यातायातका साधनभन्दा बढी हुन्छ । म्याकमिलनपछि
अरू केही व्यक्तिले साइकलको रूपमा सुधार गरे र सन् १८८५ तिर जोन स्टार्लेले आजकल
प्रयोग हुने साइकलको प्रारम्भिक रुप तयार पारे । विश्वमा पेट्रोलियम पदार्थको
भण्डारको अन्तिम थोपा रहुन्जेल अन्य ऊर्जाको आविष्कार भए पनि बृहत्
व्यापारिक उत्पादन हुनेछैन । त्यसैले पनि साइकल चढ्नुपर्ने हुन्छ, त्यसमा पनि
हामीजस्ता गरिब देशका नागरिकले अझ बढी ।



0 comments:
Post a Comment