हालैको एक साँझ राजधानीको पुरानो बसपार्क पुग्दा फुटपाथमा एकदम पातलो
चहलपहल देखिन्थ्यो । फुटपाथका अधिकांश पसले फुर्सदिला देखिन्थें । फुटपाथमा
पसल थाप्दै आएका कमल श्रेष्ठ उदास र खिन्न मुद्रामा भेटिए । ‘आज जम्मा तीन
जोर चप्पल मात्र बिक्री भयो ।’ उनले भने, ‘व्यापार ठप्प छ । लगभग शून्य जस्तै ।’
चप्पल, स्वीटर तथा पाइन्टको व्यापार गर्दै आएका श्रेष्ठले यसकै भरमा चार जनाको
परिवार पाल्नुपर्छ । ठूला तथा सटरवाला पसलको तुलनामा आफूकहाँ २ सयदेखि ३
सय रुपैयाँसम्म सस्तो पर्ने उनले बताए । श्रेष्ठका अनुसार हरेक सामानमा कम्तीमा ५०
रुपैयाँ त सस्तो पर्छ नै ।
भोजपुर–३ दिङला स्थायी घर भएका श्रेष्ठले फुटपाथको व्यापार सुरु गरेको २० वर्ष
भयो तर व्यापारका सिलसिलामा यसपालिजस्तो खराब अवस्था कहिल्यै आएन ।
वैशाखमा भूकम्पले व्यापार तहसनहस गर्यो अहिले नाकाबन्दीको मार
खेप्नुपरिरहेको छ । नाकाबन्दीले गर्दा एकातिर सामान आयात हुन छाड्यो भने
अर्कातिर ग्राहकहरू पनि आउन छाडेका छन् । क्रेताभन्दा विक्रेता तथा पसल बढी
भए । सपिङ मलहरू खुले । त्यसै कारण पनि व्यापार घटेको उनले तर्क गरे । फुटपाथमा
व्यापार गर्न पनि त्यति सजिलो छैन । नगरपालिकाले बेला–बेलामा सामान
उठाइदिन्छ । कुनै बेला समातेर लैजान्छ । सामान हेरेर २ सयदेखि ३ हजार रुपैयाँसम्म
जरिवाना तिर्नुपर्छ । बागबजारमा डेरा लिएर बसिरहेका श्रेष्ठ अहिले ऋण लिएर
गुजारा चलाउनुपरिरहेको दुखेसो पोख्छन् । उनको मासिक खर्च २० हजार छ । ‘विपत्
नै आइलाग्यो । कहाँ जाने, के गर्ने केही सोच्न सकेको छैन ।’ श्रेष्ठ भन्छन्– ‘बाँच्ने
विकल्प पनि भेटिएन ।’
पुरानो बसपार्कको सडकमा जुत्ता बेचिरहेका भेटिन्छन्, दोलखा, चरिकोटका
प्रदीप दाहाल । दिनमा १०–१२ जोर जुत्ता बेचिरहेका दाहाललाई १ हजार रुपैयाँ
नाफा हुन्छ । पसलमा १ हजार, १ हजार २ सय रुपैयाँ पर्ने जुत्तालाई उनी ५ सय ५०
रुपैयाँमै दिन्छन् । बिगत दुई वर्षदेखि साँझ ५ बजेदेखि बेलुका ८ बजेसम्म दिनहँु यही
ठाउँमा जुत्ता बिक्री गरिरहेका छन् उनी । दिउँसो राम्रो व्यापार हुन्छ तर
नगरपालिकाले बस्न दिँदैन । राति खासै व्यापार नहुने उनको अनुभव छ । तैपनि
मासिक २०– २५ हजार कमाई हुने उनी बताउँछन् । दाहालले यही कमाइबाट परिवार
पालिरहेका छन् ।
प्रदीप दाहालसँगै जुत्ता बेचिरहेका थिए— अर्बत खड्का (१८) । मीनभवन कमर्स
क्याम्पसमा स्नातक पहिलो वर्षमा अध्यनरत खड्का बिहान र साँझ जुत्ताको
व्यापारमा संलग्न हुन्छन् । पहिलेभन्दा चहलपहल केही बढेको उनले सुनाए । ६ सय ५०
रुपैयाँ ‘फिक्स रेट्’ मा जुत्ताको व्यापार गर्ने खड्काले मासिक २० हजार रुपैयाँ
ढुक्कले कमाइ हुने बताए । ‘घरबाट पैसा माग्नु पर्दैन ।’ आत्मविश्वासी देखिएका
खड्काले भने, ‘आफ्नो खर्च आफैं जुटाउँछु । गोजीमा पैसाको कमी छैन ।’ १० कक्षा
पढ्दादेखि नै व्यापारमा लागेका खड्का तातोपानी, खासाबाट एकैपटक ४ लाख
रुपैयाँबराबरको सामान ल्याएर गोदाममा राख्छन् । उनी कहिलेकाहीँ होलसेल
पसलबाट ल्याएर चाइनिज, नेपाली तथा कोरियन ब्रान्डका जुत्ता पनि बेच्छन् ।
फुटपाथमै लेडिज तथा जेन्ट्सका लागि पर्सको व्यापार गर्ने हरिगोपाल महर्जन (४०)
लाई पनि दसैंले छोइसकेको छ । साँझ साढे ५ देखि साढे ७ सय बजेसम्म व्यापार गर्ने
हरिगोपाल बिगत बीस वर्षदेखि यही व्यापारमा संलग्न छन् । ‘भूकम्पले व्यापारमा
असर गरेको थियो अहिले भने अलिक बढेको छ ।’ उनी भन्छन्, ‘नाकाबन्दीले भने असर
गरेको छ ।’ दिनमा ५ सयदेखि १ हजार रुपैयाँसम्मको व्यापार गर्ने हरि गोपालले यही
व्यापारकै भरमा परिवार पालिरहेका छन् ।
राजधानीको सबैभन्दा बढी भीडभाड हुने क्षेत्र असन, भोटाहिटी, क्षेत्रपाटी
तथा न्युरोडमा सस्ता बजारमा चहलपहल त सुरु भएको छ तर अघिल्ला वर्षहरूमा
जस्ता व्यापार नभएको व्यवसायीहरू बताउँछन् । जबहालमा आफ्नै घर अघि झोला
तथा कपडाको व्यापार गरिरहेका थिए, धु्रव वैद्य (५१) । खासाबाट आयातीत
सामानको व्यापार गर्ने वैद्यले खाली ठाउँको सदुपयोग गरिरहेका थिए । उनले
आफ्ना साथीहरूलाई व्यापार गर्न घर अघिको जग्गा छाडिदिएका छन् । बिहान
११ बजेदेखि साँझ ७ बजेसम्म खुल्ने यो सस्तो बजारमा जुत्ता, चप्पल, लुगा,
झोलाजस्ता सामान उपलब्ध छन् । कम आय भएका तथा ठूला पसल र सपिङ मलहरूमा
जान नसक्नेहरूका लागि लक्षित यो बजार तिहारपछि सम्म लाग्ने उनी बताउँछन् ।
भारतले गरेको नाकाबन्दीप्रति उनले तीव्र असन्तुष्टि जनाए । आफूसँग भारतीय
सामानहरू भए पनि नबेच्ने उनको मनसाय छ । ‘हामीले नै उनीहरूको व्यापार धानेका
छौं ।’ वैद्यले आक्रोश पोखे ।
नयाँ बानेश्वर क्षेत्रमा इलोक्ट्रोनिक्स सामानहरूको व्यवसाय गर्दै आएका मलंगवा,
सर्लाहीका दीपेन्द्र साहको अनुभव पनि अरूको जस्तै छ । ‘दसैंमा व्यापार
बढ्नुपर्नेमा उल्टै घटेको छ ।’ दीपेन्द्रले भने–‘बन्दले ठूलो प्रभाव पायो । सबैजसो
मानिस तनावमा छन् ।’ इलोक्ट्रोनिक्स सामानहरूसँगै उनी छाता तथा बेल्टहरू पनि
बिक्री गर्छन् । दुई छोरा र दुई छोरीका बावु साहलाई परिवार पाल्नै कठिनाइ
भैरहेको छ । सबैजना मिलेर नाकाबन्दी खोल्न र नेताहरूलाई आ–आफ्ना अडान
छाड्न उनले आग्रह गरे । सामानहरू प्याक गरेर उठ्नै लाग्दा उनले सुनाए, ‘सबै मिलेर
अघि बढ्नुपर्छ ।’
ललितपुरका लगनखेल, जावलाखेल, मानभवन, एकान्तकुना, कुपन्डोल क्षेत्र चहार्दा
पनि खासै चहलपहल देखिएन । फाट्टफुट्ट फुटपाथमा व्यापार गरिरहेकाहरूलाई
महानगरपालिकाका प्रहरीले हटाइरहेको देखिन्थ्यो । मानभवन क्षेत्रमा ज्याकेट र
पाइन्ट बेचिरहेका उज्ज्वल श्रेष्ठले विगतका वर्षहरूभन्दा यसपालिको व्यापार घोर
निराशाजनक भएको बताए । ‘बाटोमा ग्राहकहरू नै देखिँदैनन् ।’ श्रेष्ठ भन्छन्–
‘फाट्टफुट्ट देखिनेहरूले पनि कुनै चासो देखाउँदैनन् ।



0 comments:
Post a Comment