धर्मको नाउँमा अपराध


ठ्याक्कै मेरो घर अगाडि मन्दिर छ, तर थाहा छैन टोल–
छिमेकमा कति पापी छन् । त्यसैले होला,
मन्दिरलाई कसरी व्यस्त बनाउने,
कसरी कमाउ बनाउने भन्ने विषयमा सधैँ
लागिपरिरहन्छन् । यहाँको चलखेल, राजनीति र
होहल्लाले देवता पनि दिक्क मान्दा हुन् ।
मन्दिरकै बारेमा, धर्मकै बारेमा के लेख्नु भनेर लेखिनँ तर
एउटा हदपछि चुप पनि बस्नुहुँदो रहेनछ, किनभने कुरा
मन्दिर वा धर्मसँग सम्बन्धित रहेन । कुरा मान्छेको
प्रवृत्ति र आचरणमा गएर ठोक्कियो ।
मन्दिरमा पुराण लगाइने भएछ । त्यो पनि साता वा दसदिने
नभई महिनौँ लाग्ने पुराण । धर्म गर्ने काइदा आ–आफ्नो
हुन्छ, ठीक छ । पण्डित आउँछन्,
केही श्लोकहरू वाचन गरेर जान्छन् । यहाँसम्म
कसैलाई आपत्ति हुने कुरा पनि भएन तर कुरा कहाँनेर गएर
बिग्रन्छ भने पुराणवाचक पण्डितलाई माइक उपलब्ध गराइने
भयो । एउटा बाह्र बाइ बाह्र कोठाजत्रो मन्दिरमा माइक लगाएर बोल्नुको के औचित्य ? सुन्न चाहनेहरू मन्दिर
परिसरभित्र छिरिहाल्छन् नि, सुन्न नचाहनेलाई चैँ केको जबरजस्ती ?
म टोलवासीहरूको निर्णय सुनेर मर्माहत भएँ । थाहा छैन टोलमा वरपर कति विद्यार्थी
थिए, जो मसँगै यो निर्णयले मर्माहत भए । दिउँसोभरि मेरो कलम पण्डितको उद्दात स्वरसँगै निस्तेज हुने भो ।
आफैँलाई निरीह पाएँ । लोडसेडिङको तालिका हेरेँ । पुराणको समय हेरेँ । हप्तामा एक–दुइ दिन चैँ
लोडसेडिङ रै’नछ । त्यसैमा काम चलाउने निर्णय गरेँ । एक–दुइ दिन काम चलाएँ पनि । दिउँसोको लोडसेडिङ
अझै बढोस् भनेर मनमनै कामना पनि गरेँ तर त्यस्तो केही भएन । उल्टै टोलवासीले
अर्को निर्णय गरेछन् । लोडसेडिङले गर्दा पुराणवाचनमा बाधा आएकाले पण्डितलाई ब्याट्रीबाट चल्ने
माइक उपलब्ध गराइने भयो ।
म अझ खिसिक्क भएँ । अलिकति समयको जगेर्ना के गरेको थिएँ, त्यो पनि मुठ्ठीबाट फुत्कियो ।
दिउँसो घरमा बसिनसक्नु हुन थाल्यो । कसैको फोन आए अर्कोले बोलेको पनि नबुझिने भयो ।
पण्डित माइकले पनि नपुगिरहेको हो कि झैँ गरेर अझै चर्को आवाजमा वाचन गर्छन् । त्यतिले पनि नपुगेर
नेपाली लोकगीतको लयमा भजन हालेर बेसुरा गाउँछन् । सबै पचाउनुपर्ने । अझ
उदेकलाग्दो कुरा के भने बेलुकी पाँच बजेतिर पुराण सकिएपछि त्यहाँ उपस्थित महिलाहरू पनि भाषण
गर्न थाल्छन् । आ–आफ्नै भजन गाउँन थाल्छन् । कहाँको संस्कार हो यो ?
कपन आकाशे धारानजिकैको पुलिस चौकी गएँ, कम्प्लेन लेखाउन भनेर, ‘हामीले धर्मको
क्षेत्रमा हात हाल्न मिल्दैन भनेर पन्छिए ।’
‘समाजको शान्ति सुव्यवस्थाको चैँ के ?’
‘होइन हामी सक्दैनौँ,’ उनीहरूको एककोहोरो रटान ।
धर्म भनेको फूल, पाती, भजन, अक्षता मात्र हो भन्ने मान्यता अझै पनि ज्यूँदै छ । बुझेर, जानेर
गरौँ, त्यो विश्वाश हुन्छ । बुझ्दै नबुझी गरेको कुरा केवल अन्धविश्वाश हुन्छ । आफ्नो
रोजीरोटी गर्ने क्रममा अरूको रोजीरोटी खोसिन्छ भने त्यो कहाँबाट
धर्म हुन्छ ? कुन भगवान्ले त्यसलाई जायज भनेका छन् ?
भौतिकशास्त्रमा ध्वनिको एउटा अध्याय छ । जसमा संगीत र हल्लाको बीचमा के–के
भिन्नता छन् भनेर प्रश्न गरिन्छ । उत्तरमा एउटा राम्रो भिन्नता छ । जुन आवाजले आफ्नो कान वा आफूलाई
आनन्द दिन्छ त्यो संगीत र जुन आवाजले शान्ति बिथोल्छ त्यो हल्ला । एउटालाई संगीत
लागेको ध्वनि अर्कोलाई हल्ला लाग्न सक्छ र एउटालाई हल्ला लागेको चीज अर्कोलाई
संगीत । त्यसैले यो सापेक्षित कुरा हो । टोलबासीहरूलाई संगीत लागेको ध्वनि
यहाँ मलाई चर्को हल्ला लागिरहेको थियो ।
म एउटा कलमजीवी मान्छे । आफूलाई फुल टायम लेखक भन्न रुचाउने मान्छे । मैले कि
त लेख्नुपर्छ कि पढ्नुपर्छ । त्यसका लागि मन एकाग्र हुनलाई पनि एउटा न्यूनतम तहको शान्ति चाहिन्छ ।
मान्छेको गुण बोकेको मान्छे । रातमा स्पष्ट देख्न सक्दिनँ । फोहोरमा खान सक्दिनँ, हल्लामा निदाउँन सक्दिनँ ।
मजदुरी गरी खाने मान्छेलाई नेपाल बन्द हुँदा के गरेर खाने भन्ने तनाव हुन्छ । फुटबल
खेलाडीको खुट्टा मर्किए के हुन्छ ? पढाउने मान्छेको जिब्रो काटिए के हुन्छ ? त्यसैगरी
लेखपढ गर्ने अनि सोचेर बस्ने मान्छेलाई गज्याङगुजुङपूर्ण वातावरण दियो भने के हुन्छ ? त्यही
मर्कामा महिनौँदेखि मेरो समय बितिरहेको छ । मेरो लेखपढ गर्ने समय धेरै कटौती भएको छ । एउटा
कर्म गरेर खाने मान्छेको पेसा नै अवरुद्ध गर्ने पाप गरेर कुन धर्म कमाउन खोजिएको हो, मैले बुझेको छैन ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects