दसैंको आगमन सुरु भैसकेको भए पनि तराई आन्दोलनका कारण यातायात व्यवसायीहरूले बसको अग्रिम टिकट बुकिङ खुल्ला नगरेकाले राजधानी बाहिर दसैं मान्न जाने यात्रुहरू अन्यौलको अवस्थामा छन् । तराई–मधेसमा आन्दोलन चलिरहेको, पूर्व–पश्चिम जाने मुख्य राजमार्ग मधेसमै रहेको र भारतले इन्धन आपूर्तिमा अवरोध गरेकाले यसपालिको दसैंमा सार्वजनिक बसहरू कसरी सञ्चालन हुने हो भन्ने कुरा अहिल्यै भन्न नसकिने अग्नी यातायातका सञ्चालक रवीन्द्र भुसालले साप्ताहिकलाई बताए । उता न्यू–कोसी डिलक्स बस सञ्चालक रामशरण सुवेदी असोजको दोस्रो सातासम्ममा अग्रिम टिकट बुकिङ खुल्ने बताउँछन् ।
दसैं–तिहारको मौका छोपेर यातायात व्यवसायीहरूले थप बसको व्यवस्था गरी कमाई गर्ने मात्र होइन नयाँ–नयाँ सुविधासम्पन्न बसहरू समेत सञ्चालनमा ल्याउँछन् । यसपालि पनि यातायात कम्पनीहरूले दसैं र तिहारलाई लक्षित गरेर वातानुकूलित एसी र डिलक्स बस सेवा सञ्चालनमा ल्याउने भएका छन् । चाडबाडमा यात्रुहरूको चापसँगै राम्रो आम्दानी हुने र यही मौकामा कम्पनीको पहिचान स्थापित गर्न पनि सजिलो हुने भएकाले व्यवसायीहरूले विभिन्न सुविधासहितका बसहरू थप्छन् ।
दसैं–तिहारको अवसरमा राजधानीबाट बाहिरिनेहरूको संख्या करिब १८ लाखको हाराहारीमा हुने व्यवसायीहरूको अनुमान छ । ‘ठूलो संख्याका यात्रुलाई ध्यानमा राखेर यातायात कम्पनीहरूबीच आकर्षक सुविधा उपलब्ध गराउने प्रतिस्पर्धा नै चल्छ ।’ मकालु यातायातका इन्चार्ज सुनिलमान सिंहले भने, अहिले डिलक्स र एसी बसहरूमा फ्री वाईफाई, मिनरल बाटर र कुरकुरे त नर्मल भएको छ । उता लोन्ली प्लानेट नामक पर्यटन सम्बद्ध संस्थाको सिफारिसमा गोल्डेन ट्राभल्स र ग्रिनल्यान्ड ट्राभल्सले सुविधासम्पन्न बसहरू सञ्चालन गरिरहेको सञ्चालक केदारनाथ पौडेलले बताए ।
सुदूरपश्चिम बस व्यवसायी समितिले काठमाडांै—धनगढी रुटमा खप्तड एसीका अतिरिक्त डिलक्स सेवा सञ्चालनमा ल्याएको छ । ६ वटा एसी र ८ वटा डिलक्स कोच सञ्चालनमा ल्याएको यो कम्पनीले आतेजाते दैनिक एक–एक ‘क्यु’ एसी र डिलक्स रात्री सेवा सञ्चालन गर्दै आएको छ । ‘यी सबै सुविधा उपभोग गर्न यात्रुले सामान्य बसको भन्दा २० प्रतिशत बढी भाडा तिर्नुपर्छ र भाडा फिक्स हुन्छ’ उक्त कम्पनीका कर्मचारी किशोर चन्दले जानकारी गराए । उता महाकाली सेती यातायात व्यवसायी समितिले पनि ३२ सिट क्षमता भएको ‘महाकाली’ एसीका साथै १५ वटा डिलक्स बस सञ्चालनमा ल्याएको छ ।
नेपालको यातायात सेवामा नाम चलेका मकालु, मितेरी, अग्नि आदि कम्पनीले ठूलो लगानी गरेर सुविधासम्पन्न बसहरू थपेका छन् । ‘दसंैमा हामीले ७ वटा नयाँ बस सञ्चालनमा ल्याएका छौं,’ मकालु यातायातका सञ्चालक श्रीप्रसाद मैनालीले बताए । मकालु यातायातले देशभर २ दर्जन बस सञ्चालन गर्दै आएको छ भने मितेरी यातायातका ३२ वटा बस सञ्चालनमा छन् । सञ्चालक शेखर गुरागाईंका अनुसार मितेरी यातायातले ई–सेवामार्फत अनलाइन टिकट बुकिङको व्यवस्था समेत मिलाएको छ । उता शुभ अग्नि यातायातले भोल्भो मोडेलका ५ वटा नयाँ बसबाट सेवा सञ्चालन गर्दैछ । ‘दसैंको अवसरमा कम्पनीको प्रचार–प्रसारसमेत हुने भएकाले ठूलो लगानी गरेर बस किनेका हौं’ अग्निका सञ्चालक रोशन श्रेष्ठले बताए । पूर्वका प्रमुख सहरहरूमा सेवा सञ्चालन हुँदै आएको शुभ अग्निसँग २४ वटा बस दसैंका लागि तयार छन् । लामो दूरीका बसमा यात्रुलाई विभिन्न आकर्षक सुविधा उपलब्ध गराइए पनि सबै विद्यार्थीले छुट भने नपाउने यातायात व्यवसायीहरूले बताए । एउटा बसमा जम्मा दुई जनालाई मात्र छुट सुविधा भएको मितेरी, मकालु, अग्नि आदिका कर्मचारीहरू बताउँछन् ।
भेरी अञ्चल बस तथा मिनी बस व्यवसायी समितिले काठमाडौंै—नेपालगन्ज रुटमा ३ वटा क्याबसहित एक दर्जन सुविधासम्पन्न बस सञ्चालनमा ल्याएको छ । जसमा ६ वटा एसी र ६ वटा डिलक्स बस छन् । दुई वर्ष अघिदेखि नै एसी बस सञ्चालनमा ल्याएको यो बस सेवा समितिले यात्रुहरूको सुविधा र लामो यात्रालाई ध्यानमा राखी आरामदायी सिटको व्यवस्था गरेको कम्पनीका कर्मचारी टोपेन्द्रबहादुर शाहीले बताए ।
-----------
पहिले नै बुक गरौं
दसैंमा बसको टिकट सजिलै नपाइने मात्र होइन एउटै टिकटमा ‘डबल’ सिट पर्ने, थुप्रै यात्रु उभिएर, झुन्डिएर, मुढामा र क्याबिनको हुटमा यात्रा गर्न वाध्य हुन्छन् । काठमाडांै–गौर चल्ने सपना डिलक्सका संचालक नवोनाथ मिश्रका अनुसार ठगिनबाट जोगिन र राम्रो सिट लिन बस काउन्टरमै आएर टिकट लिनु पर्छ ।
उता मितेरी यातायातका राजन तिमिल्सिनाले सहज टिकट प्राप्त गर्न र ठगिनबाट जोगिन ई–सेवा मार्फत अनलाइन टिकट लिन सकिने जानकारी गराए । एजेन्टमार्फत र फोन बुकिङमार्फत टिकट लिन सकिने व्यवस्था प्राय: सबै यातायात कम्पनीले गरेका भए पनि मितेरी यातायातले मात्र अनलाइन बुकिङको व्यवस्था गरेको तिमिल्सिनाले बताए । तिमिल्सिनाका अनुसार दसंै–तिहारका लागि यात्रुले कम्तीमा एक साता अघि नै टिकट बुक गर्नुपर्छ ।
पूर्व महोत्तरी र पश्चिम मकवानपुरको बसामाडीसम्म कुलेखानी–हेटौडा मार्ग प्रयोग गर्दा छिटो र सजिलो हुने शिखरापुर यातायातका कर्मचारी पट्टु बस्नेत बताउँछन् । बस्नेतका अनुसार वैकल्पिक मार्ग भएर अहिले ३२ वटा यातायात कम्पनीका ७ सय ५० वटा जीप मध्यतराईका विभिन्न गन्तव्यमा सञ्चालित छन् । भर्खरै खुलेको बीपी राजमार्ग भएर चल्ने जीपले सिन्धुली, उदयपुर, ओखलढुंगा, रामेछाप, सोलु र खोटाङसम्म सेवा सञ्चालन गरिरहेका छन्



0 comments:
Post a Comment