अहिलेको नागरिक दायित्व


आश्विन १७, २०७२-
अहिलेको युगमा इन्धन प्राथमिक आवश्यकता हो । इन्धनको अभावमा
देश अशान्त हुन्छ, कमजोर बन्छ र थला पर्छ । यस्तो अवस्थामा नागरिकले
गम्भीर दायित्वबोध गर्नुपर्ने गजुरियल ठम्याइ छ । अहिलेको संकट थोरै
हाम्रा कारण र धेरैचाहिं छिमेकीका कारणले आएको हो । अभावको यो
अवस्थाको सामना गर्न नागरिक दायित्व के–के हुन सक्छ त ?
थाहा भएकै कुरा हो, इन्धन नभएपछि गाडी चल्दैनन् । गाडी नचलेपछि
अत्यावश्यक सामग्री आउँदैनन् । तिनको अभावमा जीवन चलाउन अप्ठेरो
हुन्छ । खाद्य सामग्री नहुँदा भोकले सताउँछ । भोक लागेपछि रिस उठ्छ
। रिसको सुरमा जे पनि हुन सक्छ । हो, यही अवस्थामा हामीले संयमित
निर्णय, संयमित बोली र संयमित काम गर्नुपर्ने हुन्छ ।
राष्ट्र अन्यन्तै जटिल मोडमा छ । यो अवस्था कसको कारणले आयो भन्ने
विवादतिर लाग्ने बेला यो होइन, त्यसको विश्लेषण देश पूर्ण रूपमा निको
भएपछि गरौंला । अहिले समस्याको सामना कसरी गर्ने भन्ने हो ।
पेट्रोल नपाएको झोक सरकारमाथि खन्याएर समस्याको समाधान
निस्कँदैन । ग्याँस नपाएको आक्रोश नेतामाथि खन्याउने बेला पनि यो
होइन भन्ने गजुरियल ठम्याइ छ ।
राष्ट्रिय विपत्तिमा प्रत्येक जनता जननेता हुन्, हरेक सचेत नागरिक
जनसरकार हुन् । यस्तो अवस्थामा अरूलाई यसो गर्नोस्, उसो गर्नोस् भनेर
सिकाउन सजिलो छ, मैले के गर्नुपर्छ भन्ने ठम्याउन अप्ठ्यारो । के गर्दा
ठीक हुन्छ, के गर्दा गलत ? भन्ने कुराको मूल्यांकन गर्ने बेला हो यो ।
गजुरियल विश्लेषकले अब के गर्छ भन्ने कुराको घोषणा यस प्रकार छ :
इन्धन अभावका कारण स्कुलको गाडी आउन सकेन भने म आफ्नोमा इन्धन
हुन्जेल आफैं बच्चालाई स्कुल पुर्याउँछु । आफ्नो सकिएपछि सार्वजानिक
यातायात प्रयोग गर्नेछु । ती पनि चल्न छाडेपछि पैदल लाने–ल्याउने
काम गर्नेछु । पैदल हिँड्न गाह्रो भएपछि घरमै कोर्स पढाउन सहयोग गर्नेछु
भन्ने गजुरियल योजना छ ।
घरमा ग्याँस सकिन लागेको छ । के गर्ने होला ? यो अवस्था गजुरियल
आह्वान यस्तो छ– दुई छाक खाना एकैपटक तयार गरौं । बिहान भात
खाऔं, बेलुका त्यसैलाई फ्राइड राइस बनाऔं । दाल दुई छाकका लगि
एकैपटक तयार गरौं  । सधैं भात नै खानुपर्छ भन्ने पनि छैन । कहिलेकाहीं
गोलभेंडाको अचारसँग रोटी ग्रहण गरौं । हप्तामा एक–दुई छाक चिउरा
खाँदा पनि केही फरक पर्दैन । पानी उमाल्नुभन्दा शुद्धीकरण गर्ने
औषधीको प्रयोग वा प्राकृतिक उपाय अवलम्बन गर्दा पनि इन्धनको बचत
हुन्छ भन्ने गजुरियल ठम्याइ छ  ।
आफ्नोमा सकियो भने के गर्ने होला फेरि ? त्यस्तो अवस्थामा ऐंचो–
पैंचोको सूत्र प्रयोग गर्नुपर्छ । यो नेपालीहरूको सुन्दर पहिचान हो । नुन
सकियो भने छिमेकीसँग पैंचो मागौं । आफ्नो चिनी छिमेकीलाई पैचो
दिउँm । पैंचो भीख होइन, मित्रताको उत्कृष्ट रूप हो । ऐंचो–पैंचोले
बिग्रिएको सम्बन्धलाई सपार्ने, सुमधुर बनाउने काम गर्छ भन्ने गजुरियल
ठम्याइ छ  ।
बन्दैबन्दका क्रममा हिन्दी भाषाका च्यानल पनि बन्द भएपछि
गृहिणीहरूलाई पट्यार लाग्न सक्छ । दिन बिताउन कठिन हुन सक्छ ।
यस्तो बेलाको उपयोग सकारात्मक हिसाबले गरौं  । राम्रा किताब पढौं
। करेसाबारीलाई समय दिऔं । नेपालकै समाचार, चलचित्र तथा
सिरियलहरू हेरौं । बलिउड र हलिउडको सैर गर्ने हाम्रो मस्तिष्कलाई
नेपाली संस्कृतितिर फर्काउने उत्तम अवसर पनि यही हो भन्ने गजुरीयल
ठम्याइ छ  ।
मोटरसाइकलमा पेट्रोल सकियो वा सार्जजनिक यातायातका साधन
पाइएन भने जुलुस निकाल्नतिर नलागौं । समयमै विकल्पतिर लागौं ।
समयमै सुतौं, चाँडै उठौं । काममा जानु छ, अफिस पुग्नु छ भने एक घण्टा
चाँडै हिँडौं । ढिलो भएको दिन पाइलाको गति अलि बढाऔं ।
स्वास्थ्य पनि राम्रो हुने, समयको सदुपयोग पनि हुने भएकाले पैदल हिंड्ने
बानी बसाउनुपर्ने गजुरियल ठम्याइ छ ।
बिर्सिएका साथीहरू खोजौं । खोज्न आउनेसँग मित्रता गाँसौं ।
साथीसँग इन्धन भए तपाईंलाई ड्रप गरिदिन्छन् । तपाईंसँग भए साथीलाई
पिकअप गर्न सक्नुहुन्छ । दुवैसँग नभए सँगसँगै आउजाउ गर्न सकिन्छ । बाटो
पनि काटिने, दोस्ती पनि गहिरो हुने भएकाले यस्तो अवस्थामा
मित्रतालाई प्राथमिकतामा राख्नुपर्छ भन्ने गजुरियल ठम्याइ छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects