मोनालिसा पराजुली, मोडल
दसैं भन्नेबित्तिकै सपिङकै कुरा पहिलो प्राथमिकतामा पर्छ । त्यसै पनि हाम्रो पुस्ता सपिङ गर्न भनेपछि
हुरुक्क हुने पुस्ता हो । दसैंको चहलपहल सपिङ गरेपछि नै प्रारम्भ हुने भएकाले पनि बजारमा
भीडभाड बढेपछि मात्र दसैं आएको अनुभव गर्न थालिन्छ । त्यसो त अचेल सपिङ गर्न दसैं नै
आउनुपर्छ भन्ने छैन तर दसैंमा गरिने सपिङको मज्जा बेग्लै हुन्छ । व्यक्तिगत रूपमा म सपिङ–
क्रेजी त छैन तर दसैंमा साथीहरूको आग्रह नकार्न नसकी सपिङमा
निस्कन्छु । नढाँटी भन्नुपर्दा मलाई आफ्नै ममीसँग सपिङ गर्न जान मन लाग्छ ।
आमासँग सपिङ जाँदा आफूले धेरै कुरामा ध्यान दिनै पर्दैन, आफूलाई चाहिने कुरा मन पर्छ अथवा मन पर्दैन
भनिदिए पुग्छ । साथीहरूसँग सपिङ जाँदा भने धेरै कुरामा ध्यान पुर्याउनुपर्छ ।
दसैंमा लामो बिदा हुने भएकाले टिनएजरहरू घुम्न तथा चलचित्र हेर्न जान्छन् वा कुनै साथीको घरमा
भेला हुन्छन् । म भने दसैंको बेला परिवारका सदस्यसँग घरमै बस्न मन पराउँछु । विद्यालय जीवन
होस्टलमा बिताएकाले होला, दसैंको बिदा हुनेबित्तिकै दसैं आएजस्तो हुन्थ्यो । दसैंको बिदा भएपछि घर जान पाउनु
नै हाम्रा लागि दसैंको सबैभन्दा ठूलो खुसी हुन्थ्यो । त्यही भएर होला, अहिले पनि
दसैंको बिदामा म प्राय: घरमै हुन्छु ।
यसपटकको दसैं पनि म अघिल्ला दसैंझैं पुख्र्यौली घर गाईघाटमा मनाउँदैछु । बुवा विदेशमा
हुनुभएकाले आमा, दाजुसहित हजुरबुवा–हजुरआमासहितको परिवारमा दसैं मनाउँछु । दसैंमा चंगा उडाउन र पिङ
खेल्न खुबै रमाइलो हुन्छ । दाजुसँग तासको जुटपत्ती पनि खेल्छु । विजयादशमीको दिन
सबैभन्दा बढी रमाइलो लाग्छ । टीका लगाएर दक्षिणा जम्मा
पार्न अनि जम्मा भएको दक्षिणा गन्न साह्रै मज्जा हुन्छ । एसएलसी उत्तीर्ण
भएपछिका प्रत्येक दसैंमा मैले झन्डै १५ हजार रुपैयाँ दक्षिणा पाउँदै आएकी छु । घरदेखि
मामाघरसम्म सबैले धेरै–धेरै दक्षिणा दिनुहुन्छ । सबैभन्दा बढी त ममीले नै दिनुहुन्छ
। दसैंमा टीका लगाएर जम्मा गरेको दक्षिणा अन्त्यमा ममीलाई नै दिन्छु र पछि जति
चाहिन्छ, त्यति माग्छु ।
यसपटकको मेरो दसैं विशेष हुन्छ कि हुँदैन भन्ने कुरा एउटा प्रतिस्पर्धाको नतिजामा भर पर्नेछ । मैले पहिलो
पटक ‘रनवे मोडल’ शीर्षकको मोडलिङ प्रतियोगितामा भाग लिएकी छु । उक्त प्रतियोगितामा
विजयी भएँ भने मेरो दसैं ‘ब्लास्ट’ हुने निश्चित छ । विजयी भइनँ भने पनि निराश नभै
दसैं मनाउनेछु ।



0 comments:
Post a Comment