रामकृष्ण ढकाल, गायक मन पर्छ मौसम यो बेलाको मौसमले असाध्यै लोभ्याउँछ । न धेरै जाडो, न त धेरै गर्मी । प्रकृतिले पनि नेपालीहरूले दसैं मनाउने बेला हो भनेर मौसमलाई यति रमणीय बनाइदिएजस्तो लाग्छ । खुला सडक दसैंका करिब एक साता काठमाडौंको खुला सडक देख्दा आनन्द लाग्छ । कोलाहल र प्रदूषणरहित यो सहरमा ड्राइभ गर्न पनि रमाइलो हुन्छ । यस पटक त झन् पेट्रोलियम पदार्थको अभावले होला दसैं आउन दुई–तीन साता बाँकी छँदै काठमाडौंमा दसैं आइसकेजस्तो भैसकेको छ । आत्मीयता दसैंमात्र एउटा यस्तो पर्वका रूपमा आउँछ, जहाँ हामीले आत्मीयता महसुस गर्न पाउँछौं । ठूलाले सानालाई दिने आशीर्वाद, परिवारका सबै सदस्यमात्र होइन नातेदारहरूसँगको भेटघाटले पनि मानिसहरूबीच आत्मियता बढाउन सहयोग पुर्याएको छ । मन पर्दैन काटमार मलाई दसैंमा मात्र होइन, कुनै पनि बहानामा दिइने बलि मन पर्दैन । विगतमा मैले पनि दसैंको बेला बलि दिएरै मोटरसाइकल पूजा गरेको थिएँ । अहिले नयाँ कार नै किने पनि म बलि दिन्नँ, नरिवल फुटाएर पूजा गर्छु । अत्यधिक मदिरा चाडपर्वमा रमाइलो गर्ने मुड सबैको हुन्छ । त्यो मुडलाई थप रमाइलो बनाउन मानिसहरू मदिरा सेवन गर्छन् । ठिक्क पिउनु स्वभाविक हो, अत्यधिक मदिरापान गरेर चाडपर्वलाई नै विकृत बनाएको मनपर्दैन । जुवातास दसैं तथा तिहारमा म पनि फुर्सद भएअनुसार तास खेल्छु, तर म चाडपर्वलाई बहाना बनाएर ठूलो धनराशि खर्च हुने गरी जुवातास खेल्ने कुराको विरोधी हुँ ।



0 comments:
Post a Comment