चाडपर्वको मौसम प्रारम्भ नहुँदै नेपालमा अटोमोबाइल व्यवसायीहरूले भदौको अन्तिम साता अटो शोको आयोजना गरेका थिए । प्रत्येक वर्ष हुने यस्तो अटो शोमा नयाँ–नयाँ मोडलका गाडी तथा मोटरसाइकलहरू भित्रिन्छन् । दसैं र तिहारको समयमा नयाँ कार र मोटरसाइकल किन्न चाहने ग्राहकहरूलाई ध्यानमा राखेर उक्त अटो शो सम्पन्न गरिएको थियो । अटो शोमा प्रस्तुत गरिएका केही नयाँ मोटरसाइकल : बजाजका हाइक्लास बाइक बजाज कम्पनीले तीन नयाँ आकर्षक मोडलका मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले पल्सर २०० सीसीको ‘आरएस’ र ‘एएस’ तथा १५० सीसीको ‘एएस’ स्पोर्टी मोटरसाइकल बजारमा ल्याएको हो । कम्पनीले पल्सर २०० सीसी आरएसको मूल्य ३ लाख ९९ हजार ९ सय रुपैयाँ, पल्सर २०० एएसको २ लाख ८४ हजार ९ सय रुपैयाँ तथा १५० सीसी एएसको मूल्य २ लाख ४९ हजार ९ सय रुपैयाँ तोकेको छ । सुजुकीका दुई नयाँ बाइक सुजुकीले नेपालको बजारमा जिक्सर एसएफ र जिक्सर नेकेड डुअल टोन बाइक सार्वजनिक गरेको छ । अग्रगामी स्टाइल र स्पोर्टी बनावट साथै उल्लेखनीय प्रदर्शन र उत्कृष्ट माइलेज भएको नयाँ जिक्सर एसएफ र जिक्सर नेकेड डुअल टोन सुजुकी बाइकअन्तर्गतका नयाँ बाइक हुन । नयाँ जिक्सर एसएफको १५५ सिसी इन्जिनले १४.६ बिएचपी र १४ एनएम टर्क प्रदान गर्छ । उत्कृष्ट र स्टाइलिस लुकको जिक्सर नेकेड डुअल टोनमा ४ स्ट्रोक, १ सिलिन्डर र १५५ सिसी एयर कुल्ड इन्जिन छ । जिक्सर एसएफको मूल्य २ लाख ७१ हजार ९ सय तथा जिक्सर नेकेड डुअल टोनको मूल्य २ लाख ४९ हजार ९ सय रुपैयाँ छ । भेस्पा स्कुटर इटालियन स्कुटर भेस्पाको उत्पादन पियाजिओ इन्डियाले गर्छ । फरक डिजाइन र अत्याधुनिक प्रविधिका कारण यो स्कुटर निकै लोकप्रिय छ । नेपालमा भेस्पा भिएक्स र भेस्पा एस गरी दुई मोडल उपलब्ध छन् । यी दुवै स्कुटर १२५ सिसीका हुन् । यसमा ३ भल्भ इन्जिन उपलब्ध छ । त्यसैगरी यसमा डिस्क ब्रेक, ट्युबलेस टायर, सिंगल पिस मोनोकक स्टिल बडी र अन्य विभिन्न विशेषताहरू छन् । यी स्कुटरमा सुविधाजनक स्टाइलिस सिट, स्पोर्टी टेल लाइट, स्पोर्टी सस्पेन्सन स्प्रिङ्स, स्पोर्टी डायल आदि उपलब्ध छन् । भेस्पा भिएक्सको मूल्य २ लाख ४९ हजार ९ सय ४६ तथा भेस्पा एसको मूल्य २ लाख ६३ हजार ९ सय ४६ रुपैयाँ छ । टीभीएसको बाइक तथा स्कुटर टीभीएसले नेपाली बजारमा टीभीएस जेस्ट स्कुटरसहित अल न्यू–फिनिक्स र टीभीएस स्टारसिटी प्लस मोटरसाइकल उपलब्ध गराएको छ । टीभीएसको जेस्ट स्कुटरको उचाई ७६० एमएम र तौल साढे ९८ किलोग्राम छ । यसको टर्निङ रेडियस पनि थोरै भएकाले सबै स्थानमा चलाउन सहज हुन्छ । यसले प्रतिलिटर ६२ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । यसमा सिटमुनि १९ लिटर स्टोरेज क्षमता छ । यसले ११ दशमलव १ सेकेन्डमा शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गति दिन्छ । एलइडी टेल ल्याम्प, डबल स्टिच्ड सिट, लिफ आकारका मिरर आदि समेत यो स्कुटरमा उपलब्ध छ । यसमा ब्याक लिट मिटर कन्सोल छ । राम्रो लेग ग्रिप कायम राख्न यसमा टेक्स्चर फ्लोर बोर्ड प्रयोग गरिएको छ । टिभिएस जेस्ट स्कुटरको मूल्य १ लाख ५९ हजार ९ सय रुपैयाँ छ । अल न्यू–फिनिक्समा १२५ सीसीको इन्जिन छ र यो मोटरसाइकलमा धेरै फिचर भएको कम्पनीको दाबी छ । नयाँ फिनिक्समा एड्भान्स्ड इको थ्रस्ट इन्जिन छ र यसले प्रतिलिटर ६७ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । यसमा इन्जिनलाई बढी तात्न नदिन स्पोर्टी ट्यांक स्कुपसमेत छ । कम्पनीका अनुसार यसमा सर्भिस रिमाइन्डर सेवा र भेइकल लोकेटर की पनि छ । यसको सहयोगले मोटरसाइकल कहाँ पार्किङ गरिएको छ थाहा पाउन सकिन्छ । यसमा ट्युबलेस टायर छन् । यो मोटरसाइकलको मूल्य १ लाख ७२ हजार ९ सय रुपैयाँ छ । टीभीएस स्टार सिटी प्लसमा ११० सिसीको एड्भान्स्ड इको थ्रस्ट इन्जिन छ, जसले उच्च पावर र पिकअपका साथै ८६ किलोमिटर माइलेज दिन्छ । यसमा डिजिटल ओडोमिटर र फ्युल गजसहितको एड्भान्स्ड मिटर कन्सोल छ । डबल स्टिच्ड सिट, बेटर ग्रिपयुक्त टायर, ५ स्टेप एड्जस्टेबल रियर सक एब्जर्बर, सुपर ब्राइट हेडल्याम्प आदि यो मोटरसाइकलका विशेषता हुन् । स्टार सिटी प्लसको मूल्य १ लाख ५७ हजार ९ सय रुपैयाँ छ । युएमको स्कुटर आइएमई अटोमोटिभ्सले युएमको १२५ सिसीको पावरम्याक्स र निट्रोक्स स्कुटरलाई नेपाली बजारमा उपलब्ध गराएको छ । यसमा ब्लाइन्ड स्पट कोलिसन, एलइडी ३६०, एएफएस, युएसबी पोर्ट आदि उपलब्ध छन् । यसमा युएम जेल सिट र ड्यासबोर्ड प्रयोग गरिएको छ ।



0 comments:
Post a Comment