सहजै पुग्न सकिने मन्दिरहरू


मनकामना
गोरखा जिल्लामा पर्ने प्रख्यात धार्मिक स्थल मनकामना नपुग्ने मानिस कमै
भेटिन्छन् । चाडबाडको समयमा दर्शन गर्ने मात्र होइन घुमघामका लागि मनकामना
पहिलो छनोटमा पर्छ । काठमाडौंबाट १ सय २ किलोमिटर यात्रा गरेपछि
कुरिनटारबाट केबुलकार चढेर यो मन्दिर पुग्न सकिन्छ । पैदल जानेहरूले आबुखैरेनीबाट
करिब पाँच घण्टाको यात्रा गर्नुपर्छ । यो मन्दिर विशेष गरेर पशु बलिका लागि
प्रख्यात छ । दसैंको अष्टमीका दिन यहाँ विशेष बलि चढाउने प्रचलन छ ।
पलाञ्चोक भगवती
काभ्रेपलान्चोक जिल्लाको पाँचखालबाट नजिकै रहेको पलाञ्चोक भगवतीको
मन्दिर चर्चित शक्तिपीठ हो । वैशाख तथा कार्तिक पूर्णिमामा भव्य मेला लाग्ने
यो मन्दिरमा टाढाटाढाबाट भक्तजन आउँछन् । लिच्छविकालीन राजा मानदेवले
आफ्नी आमाको सम्झनामा निर्माण गर्न लगाएको यो मन्दिर र काठमाडौंको
नक्साल भगवती एवं शोभा भगवतीमा रहेको मूर्ति एउटै शिल्पकारले तयार गरेको
किंवदन्ती छ ।
दक्षिणकाली
काठमाडौंबाट नजिकैको दक्षिणकाली मन्दिर प्रमुख धार्मिक गन्तव्य मानिन्छ ।
विशेष गरी शनिबार र मंगलबार भीड लाग्ने यो मन्दिर बलिका लागि प्रख्यात छ ।
काठमाडौंबाट दक्षिणतर्फ करिब १७ किलोमिटरको बस यात्रा गरेपछि यो मन्दिर
पुग्न सकिन्छ । यो मन्दिरको निर्माण राजा प्रताप मल्लले गराएका हुन् । यहाँ
महाकालीको भव्य मूर्ति छ ।
कालिन्चोक
कालिन्चोक भगवती, काभ्रेको पलान्चोक भगवती, काठमाडौंको शोभा भगवती
र नक्साल भगवती दिदीबहिनी हुन् भन्ने किंवदन्ती छ । दोलखाको सदरमुकाम
चरिकोटबाट करिव १५ किलोमिटर उत्तरमा रहेको यो मन्दिरको दर्शन गरेपछि
चिताएको कुरा पूरा हुने, रोगव्याधि नलाग्ने, शत्रुको भय नहुने तथा धन सम्पत्ति
वृद्धि हुने जनविश्वास छ ।
भीमेश्वर
दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट उत्तरपूर्वमा रहेको ऐतिहासिक सहर
दोलखास्थित भीमेश्वर मन्दिर नेपालकै प्रसिद्ध देवस्थल हो । किराँतकालमै
स्थापना भएको मानिने यो मन्दिरमा देशमा संकट आउनुपूर्व भीमेश्वरको मूर्तिमा
संकेतका रूपमा पसिना आउने जनविश्वास छ । मन्दिरमा नित्य पूजाबाहेक भीम
एकादशी, बालाचतुर्दशी, चैतेदसैं तथा बडादसंैमा विशेष पूजा हुन्छ । काठमाडौंको
पुरानो बसपार्कबाट १ सय ३३ किलोमिटरको यात्रा तय गरेपछि चरिकोटबाट
मन्दिर पुग्न थप चार किलोमिटर यात्रा तय गर्नुपर्छ ।
बज्रयोगिनी
प्राचीन सहर साँखुस्थित बज्रयोगिनी मन्दिरको विशेष महत्व छ । काठमाडौंको
पुरानो बसपार्कबाट १८ किलोमिटर टाढाको बज्रयोगिनी देवीलाई बौद्ध
परम्पराअनुसार बुद्धशक्ति ‘तारा’का रूपमा लिइन्छ । यसैकारण बज्रयोगिनी
देवीलाई उग्रतारा पनि भनिन्छ । चैतमा बज्रयोगिनी जात्रा हुन्छ । जात्राका
बेला अण्डा, हाँस, बोका एवं राँगाको बलि दिने चलन छ । दसैंमा पनि यहाँ विशेष
पूजाआजासहित बलि दिइन्छ ।
चण्डेश्वरी
चण्डेश्वरी मन्दिर काभ्रेको बनेपामा छ । नेवार समुदायले चण्डेश्वरीलाई कुलदेवी वा
इष्टदेवीका रूपमा पुज्दै आएको छ । यी देवीलाई सनातन हिन्दू धर्मावलम्बीहरू
चण्डेश्वरी भन्छन् भने बुद्धमार्गीहरूले पनि चण्डेश्वरीलाई विशेष रूपमा मान्छन् ।
दसैंका बेला यहाँ सयौं भक्तजन दर्शनका लागि पुग्छन् ।
बज्रवाराही
उपत्यकाका चार वाराहीमध्ये बज्रवाराही मन्दिरको बेग्लै महत्व छ । ललितपुरको
चापागाउँमा पर्ने यो मन्दिरसम्म पुग्न ललितपुरको लगनखेल तथा जावलाखेलबाट
सहजै गाडी पाइन्छ । प्राकृतिक रूपले सुन्दर हुनुका साथै ऐतिहासिक स्थलका रूपमा
पनि यो मन्दिरको विशेष महत्त्व छ । यहाँ दसैंमा बोकाको बलि दिने चलन छ ।
कार्तिक शुक्ल अष्टमी, नवमी तथा दशमीका दिन यहाँ विशेष मेला लाग्छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects