निर्देशक र निर्माता बन्न नसकेका राजेश र शिव, पर्दामै टिक्न चल्नुपर्छ फिल्म

नायक राजेश हमाल पर्दाभन्दा बाहिर सर्वाधिक चर्चित छन् । देशको राजनीतिक तहदेखि सामान्य जनतासम्मको दिमागमा, नेपाली चलचित्रको प्रतिनिधित्व गर्ने कलाकारको नाम आउँदा हमालकै नाम अगाडि आउँछ । यसैले पनि होला, ५० बर्षबाट उकालो लागेका हमालले आफ्नो स्टारडम बचाइराखेका छन् ।

तर, चलचित्रको पर्दामा भने हमालका लागि अहिले स्टारडम बचाउन मुश्किल छ । राजेश हमाललाई पर्दामा हेर्दै आएका दर्शकले पनि पछिल्ला केही बर्षमा खासै रुची देखाएनन् । हमाललाई प्रत्यक्ष हेर्न उर्लने भिडले हलसम्म पुग्ने कोशिश गरेन ।

उनै हमाल आफ्नो दबदबा कायम राख्नका लागि अहिले लागिपरेका छन् । हमालकै शैलीको चलचित्र ‘बागमती’ उनका लागि मुख्य अस्त्र बन्दैछ । यो चलचित्रको ट्रेलरमा हमाललाई एक्सन अवतारमा देखाइएको छ, जुन उनका अधिकांश चलचित्रमा हुने गर्दछ ।

अरु नायकहरुले नै बजारमा प्रभुत्व जमाउन थालेपछि हमाल केही पछि देखिएका छन् । यो चलचित्र चलेको खण्डमा उनलाई लिएर चलचित्र बनाउनेको भिड फेरि पनि लाग्नेछ ।

यस्तै, यही चलचित्रमा हमालसँगै देखिन लागेका नायक शिव श्रेष्ठका लागि पनि पुरानो क्रेज फर्काउनुपर्ने दबाब छ । शिव कुनै बेला सय दिन मनाउन सफल चलचित्र दिने नायक थिए । तर, उनको पनि बजार मुल्य घट्यो । अहिले चलचित्रको पर्दाबाट टाढै रहेका शिवका लागि ‘बागमती’ फलदायी सावित हुनसक्छ ।

दक्षिण भारतीय टिमले बनाएको यो चलचित्रबाट नेपालका दुई चर्चित नायकहरुले आफ्नो क्रेजलाई बचाइराख्ने तयारी गरेका छन् । चलचित्र निर्देशन वा निर्माण दुबैमा हात नहालेका कारण पनि राजेश र शिवका लागि चर्चामा रहन चलचित्र चल्नै पर्ने जरुरी छ । राजेश हमालले चलचित्र निर्देशन गर्ने चर्चा चलेपनि उनले यसतर्फ खासै ध्यान दिएका छैनन् । शिवले पनि चलचित्र निर्माण गर्ने चर्चा चलेको थियो । तर, अहिलेको अवस्थामा चलचित्र बनाउनु जोखिम हुने भन्दै शिव पछि सरेका थिए ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects