आमा कुन्तीको नजरमा छोरी सिवानी मोक्तान

|  कुन्ती मोक्तान, गायिका
सिवानी सानैदेखि ज्ञानी लाग्छ मलाई । सानैदेखि नै गीत–संगीतमा रुचि थियो उसको । धेरैले भन्छन् कि हामी बाबुआमा (बाबु संगीतकार शिलाबहादुर मोक्तान) बाट प्रभावित भएर सिवानी गायन क्षेत्रमा आएकी हो ।

हाम्रो बिँडो थाप्ने हिसाबले घिसारिँदै यहाँसम्म आएकी हो । यो केही हदसम्म त होला । अरु क्षेत्र वा पेसामा बाबुआमाको बिँडो थाम्न सकिएला तर गायन वा अन्य कला क्षेत्र, जसमा व्यक्ति स्वयंको विशेष प्रतिभा आवश्यक हुन्छ, यसमा चाहेरै मात्रै बिँडो थाम्न सकिन्छ जस्तो मलाई लाग्दैन । गायनमा चासो र देखासिकीले मात्र पुग्दैन, अलिकति जन्मजात प्रतिभा पनि आवश्यक हुन्छ जस्तो लाग्छ । देखासिकीले मात्रै गाउन कहाँ सकिन्छ र ? सिवानीमा गाउन सक्ने क्षमता, प्रतिभा छ । फेरि क्षमता, प्रतिभा त्यसै विकास हुने कुरा होइन । क्षमतावान बन्नका लागि कामप्रति लगाव चाहिन्छ । सिवानी त्यो छ । सिवानी आज जे छ, जहाँ छ, संगीतप्रतिको लगावका कारण छ । सिवानीकी आमा भएकाले मैले उसमा गुणहरू बढी देखुँला तर आमासँगै म उसको टिचर पनि हुँ । मैले सानैदेखि उसलाई संगीत सिकाएकी छु, पढाएकी छु । महसुस गराएकी छु र त संगीत र सिवानीलाई पर्यायवाचीजस्तै देख्छु ।
कुनै पनि काममा सफलता हात पार्न कामप्रति लगाव र निरन्तरताको निकै ठूलो भूमिका रहन्छ भनेझैँ सिवानीले त्यसै गरिन् । सुरुमा निकै गाह्रो मान्थी, तर कहिल्यै हार मानिन । संगीतप्रतिको समर्पण पनि उत्तिकै प्रशंसनीय छ । परिवार, पढाइ, साथीभाइ र पेसालाई मिलाएर लैजान उसले राम्ररी जानेकी छ ।
सिवानीलाई मैले अनुशासन त्यति सिकाउनुपरेन । संगीतप्रति चासो बढ्न थालेपछि ऊमा अनुशासन आफैँ विकास हुँँदै गएको हो । अनुशासनले सिवानी अझ बढी तिखारिएकी छ । हाम्रो प्रभाव कम र आफ्नो रोजाइ बढी भएका कारण सिवानीले गायन क्षेत्रलाई पेसा बनाएकी हो । उनमा साँच्चिकै गाउन सक्ने, सिक्न सक्ने प्रतिभा छ ।

पहिले क्लासिकल संगीतमा रुचि राख्थी । आजभोलि जमाना बदलिएको छ, समय र श्रोताको मागअनुसार आफूलाई बदल्नुपर्छ भन्ने बुझेकी छ । क्लासिकलबाट मोर्डन संगीततिर लाग्न निकै उत्साहित हँुदै गइरहेको मैले पाएकी छु । चलचित्र ‘प्रेमगीत’ को ‘जब पुग्छ रिभरसाइड’ उदाहरण पनि बनेको छ । गायन त्यस्तो क्षेत्र हो, जुन आफ्नो इच्छा र रोजाइले भन्दा पनि श्रोताको मागले चल्छ, त्यसैअनरुप आफूलाई ढाल्दै छ सिवानी । म ढुक्कका साथ भन्न सक्छु, सिवानी सफल हुनेछ । उसको सुरुवात र मेहनत राम्रो छ ।
राम्रा–नराम्रा पक्षहरु सबैमा हुन्छन् । स्वाभाविक हो, सिवानीमा पनि छन् । सिकिरहन मन गर्ने हुनाले धेरैतिर हात हाल्न खोजेको पाएकी छु । एकैपटक दुई डुंगामा खुट्टा हाल्न खोज्दा डुबिन्छ । त्यस्तै, हतार गर्ने बानी पनि उसले सुधार्नपर्ने देख्छु ।
काम त प्रसंशनीय नै गर्छे तर अलि ढिलासुस्ती गर्ने बानीले पछाडि पर्छे कि झै लाग्छ । जमाना फास्र्ट फर्वाड र चर्को प्रतिस्पर्धाको छ । आफ्नै गतिमा हिँडेर कहाँ हुन्छ र ? गति बदल्नुपर्छ, यो कुरामा ऊ कमजोर छे जस्तो लाग्छ ।
सिवानीले एउटै कुरामा चित्त बुझाउनु भन्दा पनि छानिरहने, मन डुलाइरहने, दोमन गर्ने गरेको पाएकी छु, यो उसको कमजोरी हो ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects