अहिले थारु गाउँहरूमा माघी पर्वको रौनक छ । थारु गाउँमा विभिन्न परम्परागत पोसाकमा नाचगान भैरहेका छन् ।
माघीमा नयाँ पुस्तादेखि वृद्धवृद्धासम्म एउटै समूहमा रहेर मघौटा नाच नाच्छन् । थारु संस्कृतीको जगेर्ना गर्ने उद्देश्यले थारु पत्रकार संघले मंगलबार घोराहीमा माघी सांस्कृतिक महोत्सव सम्पन्न गर्यो । १९ गाउँका कलाकार सहभागी महोत्सवमा प्रतियोगितात्मक थारु नृत्य प्रस्तुत गरिएको थियो ।
प्रतियोगितामा सौंडियार–९, सिसहनिया प्रथम, घोराही–३ ढिकपुर दोस्रा तथा सौंडियार–८ शुक्रबार तेस्रो भएका थिए । मघौटा माघी पर्वको नाच भएकाले सबै कलाकारले एउटै खालको नृत्य प्रस्तुत गर्ने थारु कलाकार चन्द्रप्रसाद चौधरीले बताए । थारु समुदायका सामाजिक अभियन्ता सुशील चौधरीले माघी पर्व सद्भावको पर्व भएको बताए । माघी दिदीबहिनी पुज्ने पर्व हो । अन्य समुदायले तिहारमा दाजुभाइको पूजा गरेजस्तै माघीमा थारु दाजुभाइले दिदीबहिनीको पूजा गर्छन् । यो पर्वमा दिदीबहिनीलाई दाल, चामल र नुन पोको पारेर उपहार दिने चलन छ जसलाई निसराउ भनिन्छ । माघीको दिन घरमै ढिक्री, रोटी, विभिन्न थरी अचार तथा मासुका परिकार बनाएर खाइन्छ । भोलिपल्ट निसराउ लिएर दिदीबहिनीको घरमा गइन्छ ।
थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रूपमा पनि मनाउँछन् । यसै दिन नयाँ महतवा अर्थात् गाउँको अगुवा चुन्ने काम हुन्छ । वर्षभरि थारु गाउँको कामकाज महतवाकै निर्देशनअनुसार चलाइन्छ ।



0 comments:
Post a Comment