जाडोबाट बच्न के–कस्ता उपाय अपनाउनु भएको छ ?

साह्रै गाह्रो प्रश्न किनभने यो जाडोमा बिजुली र इन्धनबिना एकदमै सकस भैरहेको छ, तर बाँच्नु त पर्‍यो, त्यसैले न्याना लुगा लगाउने, दिउँसो घाम लागेका बेला घाम ताप्ने र राति सिरक ओढेर न्यानो गरी बस्ने ।
अनुशा पौडेल, भिडियो जक्की

इन्भर्टरमा एउटा एक्स्ट्रा ब्याट्री थपेको छु । परिवारका सबै सदस्यका लागि इलेक्ट्रिक ब्ल्याङकेट र हटवाटर ब्याग लिएको छु । गाडीमा सक्दो कम हिँड्छु ।
दीपक बज्राचार्य, गायक

अहिलेसम्म इन्भर्टरबाट बत्ती चाहिँ बलिरहेकै छ । पहिलेकै ग्यासले अहिलेसम्म साथ दिएको छ । जनताले सास्ती पाएको हेरिरहने तर यसबाट मुक्ति दिने उपाय नखोज्ने सरकारसँग रिस उठेको छ ।
सुजना ढकाल, मोडल

न्याना कपडा लगाउने, तातो पिउने ।
विकास चौधरी, संगीतकार

काम हुनेलाई कामकै तनावले जाडो हुँदैन । काम नहुनेहरू घरमा परिवारसँग रमाइलो गर्ने, साथीभाइहरूसँग रमाउने जाडो आफैं कम हुन्छ ।
गोपाल कायस्थ, चलचित्र वितरक

हरियो वन, नेपालको धन ।
दाउराले तताउँदै छ ज्यान,
पकाउँदैछ त्यसले खानपान,
पहिले सवारीलाई सरकारले दिन्थ्यो तेल,
आजकाल महँगोमा अदृश्य सरकारले दिँदै छ, नाकाबन्दीको खेल ।
कालोबजारीले पैसा कमाए, हामीलाई लोडसेडिङको जेल ।
निश्चल बस्नेत, निर्देशक

बिहान–बेलुकी सिरकको सहारा लिन्छु । अरू बेला न्याना ज्याकेटबाट जाडो छल्ने प्रयास गर्छु ।
राज श्रेष्ठ, सञ्चारकर्मी

अब के गर्नु ? चिसोबाट बच्ने उपाय खोज्ने, आफू र परिवारका सदस्यहरूलाई बचाउने ।
सुशील क्षेत्री, नायक

कफी पिउने, न्याना लुगा लगाउने ।
सुरबिना कार्की, नायिका

सरकारलाई जनताको वास्ता नभएको देशमा जाडोबाट बच्ने उपाय आफैं खोज्ने र त्यसको अबलम्बन गर्ने ।
नम्रता सापकोटा, नायिका

सरकारको नालायकिपनका कारण जनताले सास्ती पाएका हुन् । साँझ–बिहान दाउरा बालेर आगो ताप्ने, त्यसमै खाना पकाउने । सिरकभित्र बसेर नेताहरूलाई मनपरी गाली गर्ने । रिसको पारा बढेपछि जीउ रनक्क रन्किन्छ, अनि जाडो भाग्छ ।
उपकार घमाल, चित्रकलाकार

तात्तातो कुरा र काम गरेपछि जाडो त यसै भागिहाल्छ नि ।
नीराजन प्रधान, मोडल

देशमा लोडसेडिङ छ र ? नाकाबन्दी पनि भएको छ र ? जाडो छ र ? यी प्रश्न मेरा होइनन्, केपी सरकारले त्यसोभन्दै छ रे, हैट ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects