राष्ट्रिय झन्डा बोकेर देश दौडाहामा

राष्ट्रप्रतिको माया पनि अनेकन हुँदा रहेछन् । त्यो माया कसरी व्यक्त गर्ने भन्ने तरिका भने आ–आफ्नै हुन सक्छ । यसरी नै राष्ट्रको मायाका लागि नेपालको झन्डा बोकेर देश दौडाहामा निस्किएका छन् लक्ष्मीनारायण शिल्पकार ।

काठमाडौँ–१३, कालीमाटी स्थायी ठेगाना भएका शिल्पकारले मेची अञ्चलको इलामबाट यात्रा सुरु गरेका थिए । २०७२ सालभित्र देशका ७५ वटै जिल्ला पुग्ने उनको लक्ष्य छ । विगत चार वर्षदेखि उनी राजधानीको वसन्तपुरमा राष्ट्रिय झन्डा फहराएर बस्दै आएका थिए ।

त्यसरी झन्डा फहराएर बस्दा कतिपयले धर्म, पार्टी, राजा वा अन्य कसका लागि झन्डा बोकेको भनेर प्रश्न गरे । आफ्ना देशवासीले अहिलेसम्म देशको झन्डा नै राम्रोसँग चिन्न सकेका रहेनछन् भन्ने अनुभूति गरेपछि देश दौडाहामा निस्किएको लक्ष्मीनारायणले बताए । उमेरले ६० वर्ष पुगेका शिल्पकार यात्राको खर्च आफैं व्यवस्थापन गरिरहेका छन् ।

‘नेपाली भएर पनि राष्ट्रिय झन्डा नचिन्ने धेरै जना भेटेको छु ।’ शिल्पकारले भने, त्यसैले झन्डाप्रति माया गर्नुहोस्, घरघरमा राष्ट्रिय झन्डा राख्नुहोस्, सामाजिक भावनाले देश चलाउनुपर्छ भन्ने मेरो सन्देश हो ।’ उनले बोकेर हिँड्ने ३ मिटर कपडामा निर्मित झन्डा १२ फिट अग्लो छ ।

पहिले सिकर्मी काम गर्ने शिल्पकार विगत २०–२२ वर्षदेखि सामाजिक कार्यमा संलग्न रहँदै आएका छन् । दुई छोरा, एक बुहारी, एक छोरी र श्रीमती भएका शिल्पकारलाई राजनैतिक दलहरूको झन्डा भन्दा देशको झन्डा प्यारो छ । पार्टीको झन्डा बोक्ने अनि देशको झन्डा नचिन्ने नेपाली देख्दा साह्रै दु:ख लाग्ने उनले बताए ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects