नायिका कंगना रनावतले मुम्बई बसाइको सुरुवाती दिनमा बलिउडकै एक हस्तीबाट ह्यारेसमेन्टको सिकार हुनुपरेको खुलासा गरेकी छिन् । शारीरिक हिंसाबाट पीडित भएपछि त्यो व्यक्तिलाई आफूले चप्पल खोलेर पिटेको उनले बताइन् ।
कंगनाले त्यसको एफआईआर दर्तासमेत गराएकी थिइन् । कंगनाले ती व्यक्ति को थिए भनेर खुलासा त गरिनन् तर सन् २००७ मा वरसोवा पुलिस थानामा उनले आदित्य पंचोलीविरुद्ध उजुरी गरेकी थिइन् । ‘१८ वर्षको उमेरमा मेरो पिताको उमेरका व्यक्तिले शारीरिक हिंसा गरेका थिए,’ कंगनाले भनिन् ‘करियरको खोजीमा भौंतारिरहेको त्यो क्षण मेरा निम्ति कठिन थियो । शारीरिक रूपमै मलाई ह्यारेसमेन्ट गरिएको थियो । म यो विषयमा विस्तृत कुरा गर्न सक्दिनँ, किनभने म फसेकी थिए ।’
कंगनाले बलिउडमा कसैले सित्तैंमा सहयोग नगर्नेसमेत बताएकी छिन् । यदि कसैले सहयोग गर्छ भने त्यसले केही न केही प्रतिफल खोज्ने कंगनाको अनुभव छ । १७ वर्षकी कंगनालाई निरन्तर ह्यारेसमेन्टका साथमा आदित्यले उनको टाउकोमा प्रहारसमेत गरेका थिए । रगत नै आएपछि रिसको झोकमा उनले चप्पल उठाएर त्यसको प्रतिवाद गरेकी थिइन् ।



0 comments:
Post a Comment