एसएलसीमा ग्रेडिङ सिस्टम : कति व्यवहारिक, कति वैज्ञानिक


अब एसएलसी परीक्षामा कोही अनुत्तीर्ण हुनेछैनन्, किनभने आगामी वर्षदेखि परीक्षाको नतिजा अक्षर मूल्यांकन (ग्रेडिङ सिस्टम) का आधारमा तय गरिनेछ । विगतमा जस्तो प्रतिशतका आधारमा उत्तीर्ण र अनुत्तीर्ण हुने पद्धतिभन्दा फरक ग्रेडिङ सिस्टममा विद्यार्थीलाई पर्फमेन्सअनुसार विभिन्न श्रेणीमा राखिनेछ । जस्तो कि, सर्वोत्कृष्ट अंक ल्याउनेलाई ‘ए’ ग्रेडमा राखिनेछ भने सबैभन्दा कमजोरलाई ‘डी’ वा ‘ई’ ग्रेडमा राखिनेछ । यसैकारण ‘डी’ वा ‘ई’ श्रेणीमा भएका विद्यार्थी पनि अनुत्तीर्ण कहलाइनेछैनन् । उनीहरू परीक्षाफल प्रकाशित भएको एक वर्षभित्र मूल वा पुरक परीक्षामा सामेल हुन सक्छन् । मन्टेश्वरी विधि वा प्रि–प्राइमरी कक्षाहरूमा अभ्यास हुँदै आएको भए पनि नेपालको सन्दर्भमा यो नयाँ प्रयोग हो । यसअघि विद्यालय तहमा यस्तो विधि अपनाइएको थिएन ।

यसले केही सुखद परिवर्तन ल्याउनेछ । जस्तो कि, ‘एसएलसी अनुत्तीर्ण भएकै कारण आत्महत्या’ भन्ने खबरहरू सुन्नुपर्ने छैन । एसएलसीलाई ‘आइरन गेट’का रूपमा प्रस्तुत गरेर विद्यार्थीमा जुन दबाब पैदा गरिएको छ, त्यो स्वत: हट्नेछ । त्यससँगै कम ग्रेड पाउने विद्यार्थीले एउटै कक्षामा अल्झिरहनुपर्नेछैन । यसबाट हुने सबैभन्दा ठूलो फाइदा हो— विद्यार्थीमा हीन भावनाको विकास हुनेछैन । अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको यो विधि वैज्ञानिक वर्गीकरणमा आधारित छ ।

यो प्रणालीअन्तर्गत ९० देखि १ सय प्रतिशत अंक ल्याउनेलाई ए प्लस तथा ८० देखि ८९ प्रतिशत अंक ल्याउनेलाई ‘ए’ श्रेणीमा राखिनेछ । ६० देखि ७९ प्रतिशत अंक ल्याउनेलाई ‘बी’, ४० देखि ५९ प्रतिशत अंक ल्याउनेलाई ‘सी’ श्रेणी दिइनेछ । त्यस्तै, २५ देखि ३९ प्रतिशत अंक ल्याउनेलाई ‘डी’ र त्यसभन्दा कम अंक ल्याउनेलाई ‘ई’ श्रेणी राखिनेछ ।

सरसर्ती हेर्दा यो नतिजा प्रणाली अत्यन्तै सुन्दर देखिन्छ । किनभने यसअघि जुन मूल्यांकन विधि अपनाइदै आएको थियो, त्यो वैज्ञानिक थिएन । करिब एक वर्ष पढाएको कुरा तीन घण्टामा लेख्न लगाएर त्यसैका आधारमा विद्यार्थीको क्षमता जाँच गर्ने प्रणाली त्यति चित्तबुझ्दो छैन । हरेक विद्यार्थीमा आ–आफ्नै किसिमको क्षमता हुन्छ । हामी ती सबै क्षमतालाई एउटै तराजुमा राखेर तौलन्छौं । विद्यार्थीको सिक्ने क्षमता असीमित हुन्छ । उनीहरूको यो क्षमतालाई अंकमा तौलनु अवैज्ञानिक हो ।

एउटा विद्यार्थी अनुत्तीर्ण हुनुमा विद्यालयको कमजोर व्यवस्थापन, अदक्ष शिक्षक, पराम्परागत पाठ्यक्रम, घोकन्ते शिक्षण विधि, अवैज्ञानिक परीक्षा प्रणाली एवं अभिभावक मुख्य दोषी हुन्छन् । यद्यपि यो सबै दोष विद्यार्थीको टाउकोमा थोपरिन्थ्यो । यस हिसाबले ‘ग्रेडिङ सिस्टम’ केही उन्नत छ ।
अहिले पढाउनुको अर्थ केवल उत्तीर्ण गराउनु भन्ने बुझिएको छ । शिक्षक, अभिभावक सबैको जोड विद्यार्थीलाई पास गराउनुमै केन्द्रित हुन्छ । यद्यपी पढाइको उद्देश्य उत्तीर्ण गराउनु होइन, ज्ञान आर्जन गराउनु हो । अत: विद्यालयले यस्तो ज्ञान दिनुपर्छ, जो विद्यार्थीको व्यवहारिक जीवनमा उपयोगी होस् वा त्यसको आधार बन्न सकोस् ।

पुरातन परीक्षा मूल्यांकन विधिको तुलनामा ग्रेडिङ सिस्टम वैज्ञानिक छ । यसले कर्मकाण्डी हिसाबले पढाउने चलनलाई न्यूनीकरण गर्नेछ । विद्यार्थीले अतिरिक्त ट्युसन वा कोचिङ पढ्ने संस्कार पनि रहँदैन । एसएलसीपछि रोजगार बजारमा प्रवेश गर्न चाहनेहरूका निम्ति ग्रेडिङ सिस्टमले बाटो खुला गरिदिएको छ । यद्यपि अहिलेको नेपाली परिवेशमा यो विधि आफैंमा पूर्ण र व्यवहारिक भने छैन । यसका निम्ति जे–जति तयारी गर्नुपथ्यो, त्यो गरिएको छैन ।

परीक्षा मूल्यांकन विधिभन्दा पहिले त पठन विधिलाई व्यवस्थित र वैज्ञानिक बनाइनुपर्छ । परम्परागत प्रणालीमै घिस्रिरहेका हाम्रा लागि यसले अपेक्षित नतिजा नदिन सक्छ । किनभने मूल्याकंन विधिभन्दा अध्ययन–अध्यापन विधि सुधार्नु प्राथमिकताको विषय हो ।

ग्रेडिङ सिस्टमले एसएलसीको नतिजामा सुधार त होला तर यसले शैक्षिक बेरोजगारको संख्या बढाउने सम्भावना छ । उमाविहरूले ग्रेड ‘सी’ भन्दा माथिका विद्यार्थीलाई मात्र प्राथमिकतामा राखेर भर्ना लिने संस्कार विकास हुन सक्छ ।

४०/५० प्रतिशत विद्यार्थी पढाउँदै आएका उमाविहरूसँग एसएलसीबाट आएका सबै विद्यार्थीलाई धान्ने शैक्षिक/भौतिक पूर्वाधार नहुन सक्छ । जनशक्ति पनि अपर्याप्त हुनसक्छ । त्यसले गर्दा उमाविहरूले ‘सी’ ग्रेडभन्दा माथिका विद्यार्थीलाई मात्र भर्ना लिन्छन् । यस्तो अवस्थामा तल्लो ग्रेडका विद्यार्थीहरू कहाँ जाने ?

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects