आई लभ यू

अंग्रेजी भाषाको तीन शब्दले बनेको आई लभ यू वाक्य सम्भवत: संसारमा सबैभन्दा धेरै प्रयोग गरिने गहिरो अर्थ बोकेको वाक्य हो । यसको नेपाली भावानुवाद हुन्छ— म तिमीलाई माया गर्छु । माया गर्नलाई भन्नैपर्छ वा नभनी गरे पनि हुन्छ, अन्यौल कायमै छ । कतिको प्रेम आई लभ यू भनेपछि सुरु हुन्छ, कतिको भन्नासाथ सकिन्छ पनि । यो वाक्य हेर्दा जति छोटो र सहज छ, भन्न त्यति नै लामो र कठिन यात्रा तय गर्नुपर्छ ।
आफूलाई कोही मन परेको कुरा भन्न पनि मानिस डराउँछ । ऊ पाउने उत्साहभन्दा गुमाउने भयले त्रसित रहन्छ । सारा कुरा भन्न सक्छ तर म तिमीलाई माया गर्छु भन्न उसको सातो जान्छ । प्रेम भन्ने कुरा यति शक्तिशाली हुन्छ कि यसले टोले दादादेखि संसारका तानाशाहसम्मलाई गलाउँछ । कसैसँग नडराउने मानिस पनि आफ्नी प्रेमीसँग डराउँछ । प्रेममा परेको मानिस सर्वाधिक निरीह हुन्छ । हिजोआज प्रेम पनि सक्कली र नक्कली हुन्छ । प्रेम नि:स्वार्थ हुन्छ भनिन्छ तर स्वार्थबिनाको त प्रेम नै हुँदैन । कसैलाई पाउन खोज्नु, कसैको हुन खोज्नु, कसैको केही मन पर्नु, आफ्नो मात्र बनाउन खोज्नु नै स्वार्थ हो । निरपेक्ष प्रेम यो दुनियाँमा विरलै सम्भव होला । अब स्वार्थलाई पनि सकारात्मक प्रयोजन वा नकारात्मक भनेर विभाजन गरियो भने प्रेमको शुद्धता नाप्न सजिलो होला । महात्माहरू भन्छन्— अहंको अन्त्य भएपछि बल्ल प्रेमको सुरुवात हुन्छ ।

जब कसैले आफूअनुरूपको व्यक्ति भेट्छ वा देख्छ उसमा प्रेमको भावना जागृत हुन्छ । नजिकिन पाए हुन्थ्यो, बोल्न पाए हुन्थ्यो, म पनि त्यस्तै छु भन्न पाए हुन्थ्यो भन्ने लाग्छ । फेरि आफूलाई मात्र लागेर पनि भएन, उसलाई पनि त्यस्तै लाग्नुपर्‍यो । कतिबेला चाहिं यो मानिससँग भए मेरो कुरा मिल्छ भन्ने लाग्छ, तर ऊसँग पुग्ने माध्यम भेटिँदैन । एकैचोटि गएर भन्न पनि भएन, अर्कै अर्थ लाग्न सक्छ । एकैचोटि आई लभ यू भन्न पनि सकिँदैन, कस्तो पागल रै’छ भन्दिने डर हुन्छ । मन परेको मानिससम्म पुग्न धेरै संञ्जाल बिछ्याउनुपर्ने हुन्छ । अनेक नाटक गर्नुपर्छ, अनेक खेल खेल्नुपर्छ । कहिलेकाहीं चाहिँ आफूलाई पनि हेरिराख्या होला भनेर फ्याट्ट भनिदियो, आफूसँगैकोलाई चाहिँ हेरेको हुन्छ, त्यो बेला मरिनसक्नु हुन्छ । त्यसैले कसैलाई आई लभ यू भनिहाल्ने जोखिम उठाउन बडो गाह्रो छ । धेरैले आफूले भन्न नसकेर अरुरूको सहारा पनि लिन्छन् । ए त्यसको त्यत्रो हिम्मत भनेर कतिले लज्जाजनक व्यवहार पनि भोग्छन् । कतिले आई लभ यू भन्दाखेरि गालामा सुम्ला पनि भेट्छन् । आफूजस्तो भए पनि धेरैले राम्रै रूप भएकै ताक्छन् । आफूले मन पराएकाले आफूलाई पनि मन पराउनैपर्छ भन्ने अतिवादी सोच भएका प्रेमीहरू पनि हुन्छन् । जसरी आई लभ यू भन्ने अधिकार सबैलाई छ त्यसैगरी आई डन्ट लभ यू भन्ने अधिकार पनि अर्कोसँग सुरक्षित हुन्छ । आई लभ यूको उल्टो आई हेट यू होइन । कसैले म तिमीलाई प्रेम गर्छु भन्दा म तिमीलाई घृणा गर्छु त कसले भन्न सक्ला र ?

कति पटकचाहिँ अब आई लभ यू भन्छु भन्यो, आफूभन्दा पहिले अर्कैले भन्न भ्याइदिन्छ । कतिको प्रेम भन्न नसकेर मनमनै सकिन्छ । कति पटक साथीलाई भन्न पठायो, उसैले पट्याएर उछिट्याइदिन्छ । कसैले लेखेर, कसैले आफैं भेटेर, कसैले माध्यम प्रयोग गरेर प्रेमको इजाहर गर्छन् । आई लभ यूको जवाफ ‘हुन्छ’ आउने हो वा ‘हुन्न’ आउने हो भनेर कति प्रेमीहरू कैयन् रात अनिदो नै काट्छन् ।

कतिपटक बल्ल–बल्ल भन्यो, मैले त तिमीलाई त्यस्तो नजरले हेरेकै थिएन भन्ने जवाफले किंकर्तव्यविमूढको स्थिति पनि निम्त्याउँछ । हाम्रा बा र हजुरबाको पुस्ताका धेरैले कहिल्यै एक–अर्कालाई आई लभ यू भनेनन् होला, तर प्रेम निरन्तर चलिरह्यो । जवानीमा एकफेर प्रेमको कीराले नटोकेको मानिस भेट्न मुस्किल नै छ । चाहे स्कुल होस्, कलेज होस् वा कार्यालय, आफूलाई मन परेको मान्छे भएको ठाउँमा कतिबेला पुगौं जस्तो हुन्छ । कसरी उसको ध्यानाकर्षण गर्ने भनेर प्रेमीहरू अनेक जुक्ति लगाइरहन्छन् । कसैको माया लाग्नु, कसैको प्रेममा पर्नु नै जीवनको एउटा दुर्लभ घटना हो ।

प्रेमको अन्तिम गन्तव्य विवाह हो कि होइन, यसै भन्न सकिँदैन । प्रेम त घट्नेबित्तिकै पूर्ण हुन्छ । यत्रो संसारबाट आफूलाई मन पर्ने एक जना मानिस रोज्न सक्नु उसलाई आफ्नो प्रेम व्यक्त गर्नु र उसैसँग जीवन बिताउँछु भन्न सक्नु नै एउटा महान् घटना र निर्णय हो । रूप वा धनमा टिकेको प्रेम समयसँगै खिइँदै जान्छ भने भावप्रधान र व्यवहारमय प्रेम झांगिँदै जान्छ । प्रेमले कतिखेर हँसाउँछ र कतिखेर रुवाउँछ कसैलाई थाहा हुन्न । प्रेमका लागि घरबारदेखि दरबारसम्म छोडेको इतिहास साक्षी छ । प्रेम नपाएर प्रेमीहरूले अकालमै ज्यान पनि फाल्छन् । कसैको प्रेमको अपेक्षा गर्नु राम्रो कुरा हो, तर पाउनैपर्छ भन्ने सोचले हानि गर्छ । एक जनाले आफ्नो प्रेम अस्वीकार गर्‍यो भन्दैमा प्रेमको भाव सकिँदैन । हरेक मानिस प्रेम पाउन लायक छ । धैर्य गर्न मात्र सक्नुपर्छ, उचित समय र पात्र भेटिएपछि सबैले प्रेम पाउँछन् । प्रेम जबरजस्ती दिने र लिन खोज्ने वस्तु पनि होइन । प्रेम त मूलको पानीजस्तै ह्दयबाट उर्लेर आउनुपर्छ । धाराबाट पनि पानी त आउँछ तर बीचमा पाइप टुट्यो वा मूल सुक्यो भने प्रवाह रोकिन सक्छ ।

प्रेम गरौं र व्यक्त पनि गरौं, तर पाउनैपर्छ भन्ने नसोचौं । दिनु नै प्रेम हो । प्रेमले जिउन सिकाउँछ । प्रेम नै सफलता र मुक्तिको बाटो हो । भनेर मान्छे मर्दैन, तातो पानीले घर डढ्दैन । हाने मर्छ बोले टर्छ । मन परेको मान्छेलाई आई लभ यू भन्दैमा कसको के नै जान्छ र !

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects