भिडियो निर्देशन

हेमन्त शर्मा, गायक

यो साता मैले सामाजिक सञ्जालमा धेरै जना शुभचिन्तकको बधाई पाएँ । गत सोमबारदेखि पाउन थालेको बधाई अहिलेसम्म पनि जारी छ । म गायनमा रमाइरहेको एउटा गायक म्युजिक भिडियोको निर्देशकका रूपमा अघि आएको समाचारका साथै उक्त भिडियो सार्वजनिक भएपछि बधाई दिनेहरूको संख्या बढेको हो ।

वास्तवमा म रहरले होइन, बाध्यताले म्युजिक भिडियो निर्देशक भएको हुँ । आफ्नै शब्द, संगीत तथा स्वरको गीत भएकाले पनि परिस्थितिले मलाई निर्देशक बनाएको हो । ‘गुडेको रेल...’ गीतको भिडियोमार्फत म निर्देशक भएको हुँ । परिस्थितिले गाँजेपछि जे पनि आँटिँदो रहेछ भन्ने कुरा यही गीतको निर्देशन गरेपछि अनुभव गर्न थालेको छु । वास्तवमा म व्यवसायिक निर्देशक होइन । न त भविष्यमा अरू कसैको गीत नै निर्देशन गर्नेछु । मेरो पेसा गायन नै हो र म गायनमै रमाउँछु र यसैमा सीमित पनि हुन्छु तर आफूले गाएको अनि आफ्नै पोजेक्ट पनि हो भने भविष्यमा पुन: निर्देशन गर्न सक्छु । भनिन्छ नि, माझी गाउँमा घर हुनेसँग नसिके पनि अलिअलि माछा मार्ने ज्ञान हुन्छ । करिब १२ वर्ष लोकप्रिय निर्देशक आलोक नेम्वाङसँग आफ्नै गीतको म्युजिक भिडियोको सन्दर्भमा भएको उठबस अनि छायांकनबाट पनि केही कुरा नसिकेरै पनि सिकियो, त्यसैको परिणाम हो यो भिडियो ।

‘गुडेको रेल...’ गीतको म्युजिक भिडियोको सन्दर्भमा आफैंले शब्द कोरेको र संगीत भरेको अनि गाएको पनि आफैंले हुँदा एउटा आकार–चित्र मनमा प्रारम्भदेखि नै बसेको थियो । यो गीतको भिडियोका लागि मैले खासमा कन्सेप्ट मात्र बनाएको हुँभन्दा फरक पर्दैन । कन्सेप्ट बनाएर कलाकारलाई यसो गर्नु, उसो गर्नु भन्नुनै निर्देशन हो भन्ने मैले बुझेको छु ।

भिडियो निर्देशन गर्नुअघि मैले भिडियोलाई कागजमा उतारें । क्यामेराम्यान धीरजजँग शाहसँग पहिले नै मेरो स्टोरीलाइन देखाएर छलफल गरें । कलाकारहरू केकी अधिकारी, पल शाह तथा पुष्प खड्कालाई भिडियोको छायांकन हुनुभन्दा ५–६ दिन अघि नै कथा बताएँ । भिडियोका लागि नृत्यका केही स्टेप आवश्यक पर्ने भयो । त्यसका लागि कोरियोग्राफर दीपक सिंहसँग छलफल गरें । सबै कलाकार जुट्ने क्रममा छायांकन निर्धारित समयभन्दा तीन घण्टा ढिला प्रारम्भ भयो ।

निर्धारित समयभन्दा ढिलै भए पनि नआत्तिकन बिहान साढे ११ बजे क्यामेरा रोल गरें । साँझ ४:३० नबज्दै छायांकन सम्पन्न भैसकेको थियो । छायांकन सम्पन्न भएपछि सम्पादक प्रकाश तुलाधरसँग भिडियोको स्टोरी लाइनअप गरी सम्पादन पनि सकें ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects