देशको राजनीति, अर्थशास्त्र, ह्युमन साइकोलोजी, मधेस आन्दोलनको दिशा, संघीयताको रूपरेखा, नेपालको परराष्ट्र नीति, भूकम्पको एक वर्ष आदिका बारेमा छलफल गरिसकेपछि उनीहरूको गफ आ–आफ्ना हुर्कंदा सन्तानतर्फ केन्द्रित भयो ।
यो निश्चय हो कि हरेक मान्छेलाई आफ्नो सन्तान प्यारा लाग्छन् । कसैका दोस्रो सन्तान हुर्किरहेका थिए, कसैको पहिलो ।
सबै आ–आफ्ना तर्फबाट आफ्ना सन्तानको सक्दो धाक लगाइरहेका थिए ।
‘मेरो छोरो यस्तो छ ।’
‘मेरी छोरी यस्ती.........’
हरेकले आफ्ना सन्तानको धाक लगाइसकेपछि अर्को व्यक्ति ‘तेरोभन्दा मेरै सन्तान तीक्ष्ण’ को भावले भएको भन्दा दोब्बर–तेब्बर मसला हालेर सुनाइरहेका थिए ।
कुरा गर्दै जाँदा यस्ता कुरा पनि भए । एउटाले भन्यो, ‘मेरो छोरो त्यो मोटु पत्लु भन्ने कार्टुन खुब हेर्छ ।’
अर्कोले भन्यो, ‘हो हो, मेरी छोरी पनि । त्यो हेर्न पाएपछि उसलाई भोक–प्यास पनि लाग्दैन ।’
‘मेरोलाई त त्यो नदेखाई केही कुरामा फकाउनै सकिँदैन ।’
‘एक दिन मेरो छोरो मोटु पत्लु हेर्दै थियो, म भुसुक्क निदाएछु । पिसाब फेर्न रातको साढे बाह्र बजे उठेको त, ऊ त्यही कार्टुनमा तल्लीन थियो ।’
‘के देख्छन् यी बच्चाहरू कार्टुनमा ?’
‘एउटा कुरा भनूँ ?’ एक सरकारी इन्जिनियरले गोपनीयता भङ्ग गर्ने शैलीमा भने, ‘एक दिन छोरोसँग लागेर मैले पनि हेरेँ त्यो कार्टुन । वास्तवमा भन्ने हो भने मैले पनि इन्जोय गरेँ ।’
‘एक्ज्याक्ट्ली,’ स्थानीय विकास मन्त्रालयका शाखा अधिकृत बोले, ‘मैले पनि एक दिन छोरीसँग बसेर हेर्दा करिब बाह्र–चौध मिनेटको भिडियो थियो, राम्रै टायम पास भयो ।’
‘त्यो पत्लुले पहलवान् हुने हलुवा खाएर जुन बिध्वंस मच्चाउँछ, त्यो भाग मैले पनि रमाएरै हेरेको थिएँ,’ यो भन्ने थिए एक जना ठेकेदार ।
निष्कर्ष यही निस्कियो, बूढाहरू पनि कार्टुन हेरेर खुब रमाउँदा रहेछन्, तर पनि बच्चाहरूले हेरेको मन पराउँदैनन् । यो पक्कै हो कि धेरै हेर्नु हुँदैन । धेरै त केही कुरा पनि राम्रो होइन । धेरैले जे कुरा पनि अजीर्ण हुन्छ ।
असलमा हरेक ठूला मान्छेभित्र बच्चा लुकेको हुन्छ, तर पनि ऊ आफैँलाई छोप्छ । मानौँ, आफैँमा बालापन हुनु लाजमर्दो कुरा हो । मानौँ, बच्चाजस्तै हुनु भनेको निम्न हुनु हो । तुच्छ हुनु हो । कसैलाई गाली गर्दा वा होच्याउँदा हामी ‘कस्तो बच्चाजस्तो’ भन्छौँ । मानिसहरूको मान्यता छ, बच्चाहरू अज्ञानी हुन्छन्, बुद्धिहीन हुन्छन्, विवेकशून्य हुन्छन् तर वास्तवमा बच्चाभन्दा अज्ञानी प्रौढ हुन थालेका छन् ।
बुद्धिहीन, विवेकशून्य ठूला मान्छे हुन थालेका छन् । बच्चा र ठूला मान्छेमा त्यही फरक छ जुन ज्ञान नहुनु र ज्ञान भएर पनि त्यसको सही प्रयोग नगर्नुबीचको फरक छ ।
मलाई त कसैले बच्चाजस्तो भनेको खुब मन पर्छ । मलाई केही हदसम्म अज्ञानता पनि मन पर्छ, तर त्यो अज्ञानता बच्चाको जस्तो छ भने । मलाई बरु अपठित मान्छे मन पर्छ पठित भन्दा । अज्ञानताको दुरुपयोग हुन सक्दैन, तर मान्छेले ज्ञानको भरपुर दुरुपयोग गर्न सक्छ । मेरो आशय यो होइन, हुँदै होइन कि म अज्ञानताको पक्षमा बोलिरहेछु । अहँ पटक्क होइन । ज्ञान यदि यो जगतको हितमा प्रयोग हुन्छ भनेमात्र राम्रो हो ।
बच्चाजस्तै निर्दोष, अकलुषित र निरपराध हुन पाए के खोज्नु ? यसै अर्थमा भनेको, मलाई ज्ञानभन्दा अज्ञानता मन पर्छ । किन हो थाहा छैन, बुद्धिको विकाससँगै मानिसमा विकार बढेको छ बरु आकार नबढोस्, तर विकार पनि नबढोस् । त्यसैले मलाई झूट बोले पनि बच्चा नै मन पर्छ, जसरी पोले पनि मान्छेलाई घामै मन पर्छ, पिटे पनि बच्चाहरूलाई आमै मन पर्छ । लाग्छ, केटाकेटी बेलैमा मान्छेको वास्तविक पहिचान देखिन्छ, ठूलो भएपछि त सबै एक्टर हुन्छन् ।



0 comments:
Post a Comment