गोबिन्द र अञ्जुको सांगितिक हयाट्रिक

काठमाडौं – ‘सत्यता’ एल्बमका भाग एक र दुई लगातार हिट भएपछि गीतकार गोविन्दप्रसाद उपाध्यायले ‘सत्यता–३’को रेकर्डिङ सुरु गरेका छन् ।
सत्यता–३ मा पनि उनले चर्चित गायिका अञ्जु पन्तलाई समेटेका छन् । यस हिसाबले गीतकार गोविन्द र अञ्जुको साँगितिक सहकार्यको ‘हयाट्रिक’ हुने भएको छ ।

अञ्जुले सत्यता–एकमा ‘कथा जिन्दगीको’ बोलको गीत गाएकी थिइन भने ‘सत्यता–२’मा मनोज राजसँगको युगल गित ‘कस्तो माया लाइयो हजूर’ गाएकी थिइन् । ‘सत्यता–३’मा भने उनी गजलको ‘मेहफील’ जमाउँदै गाउनेछिन–

‘मेहफीलमा बसाई सरे होलान्
तिम्रा यादहरु’
असारको झरीमा नक्सालको अक्योस्टिक स्टुडियोमा सत्यता–३ को गीत रेकर्ड भइरहँदा अञ्जु आफ्नो उही हँसिलो र रसिलो मिजासमा प्रस्तुत भएकी थिइन् । करीब तिन घन्टासम्म गजलका विभिन्न बान्कीहरु प्रस्तुत गरेपछि उनले भनिन्, ‘धेरै पछि मैले एउटा उत्कृष्ट गजल गाउने मौका पाएँ ।’

‘मेहफील’ शीर्षकको गजलको विशेषता के हो भने यसमा गोबिन्दले शब्द कोरेका छन्, जो पेशाले बैंकर हुन् । अनि यसमा संगीत भरेका छन्, पेशाले पत्रकार कुसुम भट्टराईले । यसमा हरेक अन्तरालाई भिन्न भिन्न शैलीले संगीत कम्पोज गरिएको भने एउटै शब्दलाई विभिन्न शैलीले गाउने शैली अपनाइएको छ ।

‘शब्द र संगीत सुन्दा मलाई यस्तो लाग्यो यो कुनै बैंकर र पत्रकारले रचेको हैन, बरु प्रोफेशन र माझिएका सर्जकहरुले रचेका हुन्’, अञ्जुले भनिन् ।

गीतकार गोबिन्दका यसअघिका दुई एल्बमहरुले विभिन्न एफएम र टेलिभिजनका म्युजिक अवार्डहरुमा उत्कृष्ट गितकारको पुरस्कार पाइसकेका छन् । गीत सिर्जनालाई ध्यानको संज्ञा दिने गोबिन्द आफ्नो व्यस्त समयबाट फुर्सद निकालेर साँझपख गित रच्नेगर्छन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects