उधौलीको रौनक प्रारम्भ

पूर्वका किराँत बस्तीहरूमा साकेला उधौली पर्व प्रारम्भ भएको छ । मंसिर पूर्णिमाका अवसरमा १५ दिनसम्म ढोलझ्याम्टाका साथ साकेला नाच्दै किराँत राईहरूले धूमधामका साथ यो पर्व मनाउँछन् ।शुक्रबार १० गते पूर्णिमादेखि औपचारिक रूपमा यो पर्व प्रारम्भ हुने किराँत राई यायोक्खा नगर समन्वय परिषद्, कटारी, उदयपुरका अध्यक्ष मनबहादुर राईले बताए ।

किराँत राईहरूको बसोबास रहेको पूर्वी पहाडी जिल्लाहरूका साथै धरान, इटहरी, गाईघाट, कटारी, मोरङ तथा राजधानी काठमाडौंलगायतका सहरहरूमा यो पर्व धूमधामका साथ मनाइँदै आएको छ । उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याएको खुसीयालीमा मनाइन्छ ।

प्रकृति पूजक किराँत समुदायले नदी तथा खोलामा माछा ओरालो (उँधो) धेरै पानी भएको ठाउँतिर बसाइँ सरेको समयलाई उधौली भनेको पाइन्छ । भाषा, संस्कार तथा संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उधौलीका अवसरमा संसारभर छरिएर रहेका किराँतहरू आपसमा शुभकामना आदान–प्रदान गरी यो पर्व मनाउँछन् ।

उधौलीका अवसरमा एकै ठाउँमा भेला भएर दु:ख–सुख साट्दै संस्कृति झल्काउने पोसाकमा साकेला नाचिन्छ । राईहरूले हातमा झ्याम्टा, ढोल, चमर र सेउली लिएर विभिन्न शैलीमा साकेला नाचेर यो पर्व मनाउँछन् । त्यस्तै सुनुवारहरू ढोल बजाएर स्यादर नाच्छन् ।

पछिल्लो समय युवापुस्तामा साकेला उधौलीको आकर्षण बढ्दै गएको छ । आफ्नै वेशभूषामा ढोल, झ्याम्टाका साथ साकेला नाच्दै टोल–टोलमा यो पर्व मनाइन थालेको छ । युवा पुस्ताका लागि विभिन्न जिल्लामा प्रशिक्षण कार्यक्रम नै सञ्चालन गरी साकेला नृत्य सिकाइँदै आएको छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects