त्यो रत्नपार्क, यो रत्नपार्क

तपाईंले हेर्नुभएको यो तस्बिर कुनै सिनेमाका लागि कैद गरिएको होइन । यो काठमाडौंको मुटुमा रहेको रत्नपार्क हो, जुन प्रेम गर्नेहरूको डेटिङस्थलको रूपमा अचेल विकास हुँदै गएको छ । स्कुल पढ्नेदेखि कलेज पढ्नेसम्म, नवदम्पतीदेखि अर्धबैंसेसम्मका लागि रत्नपार्क अहिले भेटघाट र मोजमस्तीको थलोको रूपमा परिचित भएको छ । स्कुल–कलेजको ड्रेसमै प्रेमी–प्रेमिकाले रोमान्स गरेको समेत भेटिन्छ ।
प्रेममा रमाउँदै गरेका जोडीहरु रमाउँदारमाउँदै आवेशमा आएको दृश्यसमेत यहाँ देख्न पाइन्छ । झट्ट हेर्दा अलि असहज लाग्ने यस्ता थुप्रै दृश्य देख्न सकिन्छ, हिजोआज रत्नपार्कमा । सार्क सम्मेलन हुनुअघिसम्म फुटपाथ व्यापारीको कब्जामा रहेको रत्नपार्कमा हिजोआज व्यापारीहरू भेटिँदैनन् । रत्नपार्क आज प्रेमी–प्रेमिकाको एउटा गन्तव्य बनेको छ ।
सशुल्क प्रवेश गर्नुपर्ने भएपछि अहिले पहिलेको भन्दा सीमित मान्छे मात्रै जाने र सबै आफ्नै धुनमा हुने हँुदा युवा वर्गले खुलेर एकापसमा प्रेम साटासाट गर्न पाएका छन्, रत्नपार्कको छातीमा ।
त्यसो त यहाँ आफ्नो बैंस बिसाउन आउने मात्रै छैनन्, वृद्धवृद्धा पनि टहलिन आउँछन् । कतिपय साथीभाइको समूह पनि केही समय काट्न यहाँ आउँछन् । स्वछन्द तरिकाले आकाशमा चराहरू उडेझैँ रमाउँदै गरेका युवा पुस्ता पनि प्रशस्तै भेटिन्छन् ।

रत्नपार्कको मर्मत–सम्भार

०७१ मंसिरमा सम्पन्न सार्क शिखर सम्मेलनलाई लक्षित गर्दै महानगरपालिकाले पार्कको पुनर्निर्माण गरेको हो । पुनर्निर्माणका लागि ०७१ वैशाख १ देखि बन्द गरिएको थियो । मर्मत–सम्भारपछि गत १५ असारमा उपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्कको उद्घाटन गरेका हुन् ।

महानगरपालिकाका अनुसार ७५ लाख रुपैयाँको लागतमा रत्नपार्कको स्वरूप फेरिएको हो । महानगर पालिका हरियाली विकास महाशाखाका अनुसार मर्मत–सम्भार गरी सशुल्क प्रवेश खुला गरेसँगै मंसिरमसान्तको अवधिमा एक लाख १० हजार दुई सय सर्वसाधारणले पार्क प्रवेश गरेका छन्, जसबाट २७ लाख ५५ हजार आन्दानी भएको थियो ।

मनै लोभ्याउने दृश्य

मर्मतपछि रत्नपार्कको रुपै फेरिएको छ । छेउको पानीपोखरी, हरियाली बगैँचा, अनि मनै लोभ्याउने गरी फुलेका फूलले अहिले रत्नपार्कलार्ई सुन्दर र मनमोहक बनाएको छ । पहिले–पहिले फोहोर र दुर्गन्धित मानिने रत्नपार्कको अहिले स्वरूप नै फेरिएको छ । पहिले देखेकाले अहिले रत्नपार्क देख्दा हेरेको हेर्यै हुन्छन् ।
पार्कभित्र शोभापोखरी साथै दक्षिणतर्फ दुईवटा त्रिकोणात्मक पोखरी निर्माण गरिएको छ ।
पूर्वतिर क्षेत्रमा गमला, शौचालय निर्माण गरिएको छ, भने सुरक्षा गार्डको समेत व्यवस्था गरिएको छ । साथै, पार्कभित्र चौतारा, पिङ पनि छन् ।
विभिन्न स्थानमा रङरोगन गरिएको छ । पार्कभित्र कोही पुस्तक पढिरहेका देखिन्छन् त कोही ल्यापटप चलाइरहेका भेटिन्छन् । घुमघाम गर्न पार्क भित्र छिरेका पनि सभ्य तरिकाले बसेका देख्न सकिन्छन् ।

बालबालिका, वृद्ध र अपांगता भएकालाई निःशुल्क

पहिले सर्वसाधारणले यहाँ निःशुल्क प्रवेश पाउँथे । अहिले प्रवेशका लागि २५ रुपैयाँको टिकट काट्नुपर्छ । तर, बालबालिका, वृद्धवृद्धा र अपांगत भएकाका व्यक्तिका लागि भने शुल्क लाग्दैन । त्यस्तै, विद्यार्थीलाई १५ रुपैयाँ छुट दिइन्छ ।
पार्कभित्र बालबालिकाका लागि विशेष व्यवस्था गरिएको छ । पार्कभित्र केटाकेटीका लागि छुट्टै उद्यम खोलिएको छ । जहाँ उनीहरू खुलेर खेल्न र रमाउन पाउँछन् । बालबालिकाको मनोरञ्जनका लागि ६ वटा पिङ र दुई वटा चिप्लेटी रहेका छन् ।

खुल्ने समय
पार्क हप्ताको सातै दिन खुला रहन्छ । गर्मी याममा बिहान ८ देखि साँझ ६ बजेसम्म र जाडो याममा बिहान ८ देखि साँझ ५ बजेसम्म खुला रहन्छ ।

सुरक्षा

रत्नपार्कमा नगर प्रहरी र नेपाल प्रहरीले सुरक्षा चासो बढाएको छ । प्रवेशद्वारमै नगरप्रहरीले झोला र टिकट चेक गर्छन् । पार्कभित्र पनि केही प्रहरी जवान डुलिरहेका हुन्छन् । गेटमा बसेका नगरप्रहरीको चेकिङका कारण फुटपाथ पसलेले पनि प्रवेश गर्न पाएका छैनन् ।
अहिले रत्नपार्कको बाहिरी भागमा फुटपाथ पसलेले पत्रिका, काँक्रा, खबरबुजा, केहीले नाङ्लोमा चुरोट, सुर्तीलगायत सामान बेच्ने गर्छन् ।
महानगर प्रहरी प्रमुख धनपति सापकोटा भन्छन्, ‘पार्कभित्र र बाहिर वरपर नगरप्रहरीले हेर्छ । नियम–कानुनविपरीत गर्नेलाई कारबाही हुन्छ । यो पार्क सभ्य र भद्र मानिसका लागि हो ।’
रत्नपार्क वरपर यौनकर्मी भेटिने चर्चा पहिलेदेखि नै चल्दै आएको हो । तर, अहिले केही घटेको त्यहीँ ड्युटीमा रहेका एक प्रहरीले बताए ।
यद्यपि बाहिर यौनकर्मीले मोलमोलाइ गरेको पनि सुन्न सकिन्छ । ड्युटीमा खटेका नेपाल प्रहरीका एक जवानले भने, ‘माथिबाटै यस्तो क्रियाकलाप रोक्न निर्देशन दिने हो भने यसलार्ई केही दिनमै रोक्न सकिन्छ ।’
पार्कको इतिहास

२०२१ सालमा निर्माण सम्पन्न भएको रत्नपार्कमा गत असार १५ गतेदेखि पहिलोपल्ट प्रवेश शुल्क लागू गरिएको हो । तत्कालीन राजा महेन्द्रले रानी रत्नराज्यलक्ष्मी शाहको नाममा यो पार्क निर्माण गर्न लगाएका थिए । उनले पार्क निर्माणका लागि ०१८ सालमा एक कमिटी गठन गरेका थिए ।
पञ्चायतकालमा अञ्चलाधीशको कार्यालयले यसको रेखदेख गर्ने गथ्र्यो । तर ०३३ सालमा भने तत्कालीन श्री ५ को सरकारले सार्वजनिक उद्यान तथा सभागृह विकास समिति गठन गर्दै यसको रेखदेखको जिम्मा लगाएको थियो ।
पञ्चायतको अन्त्यपछि पनि लामो समयसम्म यही समितिले नै यसको रेखदेख गर्दै आएको थियो । ०५८ चैत्र ५ गतेको मन्त्रिपरिषद्को निर्णयले यो समितिलार्ई महानगरपालिकामा गाभ्ने निर्णय गरेपछि यसको स्वामित्व महानगरपालिकालार्ई आएको हो । यसपछि पनि पार्क लामो समय व्यवस्थित हुन सकेन । पर्खालको मर्मत सम्भार र महानगरपालिकाले उचित चासो नदिँदा पार्क लामो समय अव्यवस्थित रह्यो । जसका कारण यो पार्क यौन व्यवसायी फुटपाथ पसले र चटकेको कमाउने थलो बन्यो ।
गत वर्ष ०७१ वैशाखमा महानगरपालिकाले पुनर्निर्माणका लागि रत्नपार्कलार्ई पूर्ण रूपमा बन्द गरेको थियो । ०७१ मंसिरमा सम्पन्न भएको सार्क शिखर सम्मेलनलार्ई लक्षित गर्दै महानगरपालिकाले यसको पुनर्निर्माण गरेको हो । झन्डै १५ महिना बन्द भएपछि खुलेको रत्नपार्क अहिले भने शान्त, सभ्य र आकर्षक भएको छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects