फिल्म ‘चकलेट’ नचल्नुका चार कारणः नायिका पूजना प्रधानको आत्मसमीक्षा


मेरो पहिलो चलचित्र ‘चक्लेट’ व्यापारिक होइन, सामाजिक चलचित्र हो । फिल्म बनाएर दर्शकको वाहवाही पाउने र लाखौँ कमाउने उद्देश्य थिएन नै । कथा नै सडक बालबालिकाको यथार्थ झल्किने थियो । त्यसैले कथा नराम्रो होइन, तर सोचेजति सफलता हात परेन । मलाई लाग्छ, यी चार कारण फिल्म सोचेजति चलेन :

एक

यो जमाना ग्ल्यामरको मात्रै रहेछ । दर्शकले समाजका यथार्थ भएका फिल्म रुचाउन छाडेजस्तो लाग्छ । फिल्म हलमा एकैसाथ दुई पोस्टर टाँसिएका थिए, एकातिर एकदमै ग्ल्यामरस बलिउड फिल्म ‘हेट स्टोरी –३’ को ठुलो र आकर्षक पोस्टर, अर्कोतर्फ झुत्रो कपडा लगाएका ९ बालबालिकाको सानो पोस्टर । हल पुगेर नियाल्दा अधिकांश दर्शकको ध्यान ‘हेट स्टोरी’तिर खिचिएको देखियो । फिल्म भनेको मनोरन्जनको लागि मात्रै हो भन्ने मानसिकता देखियो । सामाजिक यथार्थ या कुनै पाठ र सन्देशका लागि फिल्म हेर्ने दर्शक कम रहेछन् ।

दुई

मैले फिल्म रिलिज नै गलत ‘डेट’मा गरेछु । ‘चकलेट’ लागेकै दिन हिन्दी फिल्म ‘हेट स्टोरी –३’ पनि रिलिज भयो । त्यस्तै धेरै खर्च गरेर प्रचार गरिएको ‘कबड्डी–कबड्डी’ पनि त्यही बेला लाग्यो । यस्ता बेला मैले फिल्म रिलिज नगर्नुपथ्र्यो । पहिलो अनुभव हो, जानिनँ । मेरै नादानी र गल्तिका कारण चक्लेट डुब्यो भन्ने मलाई लाग्छभन्ने मलाई लाग्छ ।

तीन

हामी नेपाली समाजसेवा र दर्शनका ठूला कुरा गर्छौं । तर सबै कुरा बोक्रे रहेछन् भन्ने ‘चकलेट’को रेस्पोन्सबाट थाहा पाएँ । समाजसेवामा समर्पित एउटा फिल्म त हेर्दैनौं, के समाजसेवा गर्छौं होला र ? मैले चुनौति लिएर नै फिल्ममा लगानी गरेकी थिएँ । शोबाट डुबेपनि ‘च्यारिटी शो’ बाट लगानी उठाइरहेकी छु ।

चार

फिल्मबाट घाटामात्रै लागेन । मैले केही सिक्ने अवसर पनि पाएँ । समाजसेवा गर्छु भनेर फिल्म नै बनाउनचाहिँ नहुने रहेछ । दर्शक छैनन् यस्ता फिल्मका । अर्को कुरा दिन प्रतिदिन नेपाली फिल्मप्रति दर्र्शकको चाख घटिरहेको छ । राम्रा, ठूला र नाम चलेका प्रोडक्सनका फिल्म पनि ‘फ्लप’ भइरहेका छन् । बलिउडमा नेपाली दर्शकको बढी चासो छ । मेरो फिल्म पहिलो र निकै नयाँ धारको भएकाले पनि चल्न सकेन । तर जतिले हेर्नुभयो, उहाँहरूले भने एकदमै मन पराउनुभएको छ । मैले आफ्नो छवि र चरित्रअनुसारको फिल्म बनाएकी हुँ । फिल्मबाट उठेको पैसाले असहाय सडक बालबालिकाका लागि आश्रम बनाउने ‘ड्रिम प्रोजेक्ट’ थियो । त्यसैले यस्तो फिल्म बनाएकी हुँ । पैसा र नामकै लागि भए त ‘आइटम’ गीत मनोरञ्जनात्मक फिल्म बनाउन सक्थेँ । तर त्यसो गरिनँ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects