काठमाडौं । कुञ्जना घिमिरे गायिका होइनन्, तर एक गायिकाको
भन्दा कम छैन उनको संगीतमोह । उनी गीत सुन्दिनन् मात्रै, ‘फिल गरेर’
सुन्छिन् । हरेक प्रकारका गीत सुन्ने गरेको बताउने कुञ्जना भन्छिन्, ‘गीत
सुन्दा म आफूलाई हराएको महसुस गर्छु ।’ अनलाइनखबरको नियमित स्तम्भ
संगीत-संवादमा यसपटक मेरी बास्सैकी सुन्तलीसितको कुराकानीः
संगीतमा कति रुची छ तपाईंको ?
कति-कति । संगीतबिना त म टिक्नै सक्दिन । मेरो जीवनकै अभिन्न अंग
हो संगीत ।
संगीत भनेपछि हुरुक्कै हुने मान्छे, किन गायिका नबनेर कलाकार
बन्नुभो ?
म गीत सुन्न पो खप्पिस त । स्वर त कहाँ राम्रो हो र ।
तैपनि, कहिल्यै गायिका बन्ने विचार आएन जीवनमा ?
त्यतिबेला मलाई खाली हिरोइन बन्ने धुन सवार थियो । अहिले यसो
सोच्छु, संगीत क्षेत्रमा लागेको भए म कति रमाउँथे होला । कस्ता गीत
गाउँथेँ होला ।
माइकमा गीत गाएको अनुभव छ ?
मेरो माइतीघर नजिक एउटा इलेक्ट्रोनिक पसल थियो । आमाको चोलो
भिरेर त्यो पसलमा जान्थेँ, अनि माइक समातेर चिच्याउँदै कुन्ती
मुक्तानको चोली राम्रो पाल्पाली ढाकाको गीत गाउँथेँ । स्कुल छँदा
एकपटक स्टेजमा पनि गाएकी थिएँ ।
कस्ता गीतहरु सुन्न मन पराउनुहुन्छ ?
म सबै खाले गीतहरु सुन्छु । लोकगीत, आधुनिक गीत, चलचित्रका गीत,
पपगीत के सुन्दिनँ । हिन्दी गीत पनि उत्तिकै सुन्छु ।
तपाईंले जीवनमा पहिलोचोटी सुनेको गीत कुन होला ?
सायद रेसम फिरीरी होला । चिनो फिल्मको मोहनी लाग्ला है पनि
सुरुसुरुमा सुनेको गीतमा पर्छ ।
पट्यार नै लाग्ने गरी अत्यधिक सुनेको गीत ?
न बिर्से तिमीलाई न पाएँ तिमीलाई । हिन्दी त थुप्रै छन् ।
तपाईंको सबैभन्दा पि्रय गीत ?
मर्ने कसैलाई रहर हुँदैन तर नमरेको शहर हुँदैन भन्ने ‘नाइ नभन्नु ल’ फिल्मको
गीत । अर्को छ, दिपक लिम्बुले गाएको यहाँ देशको छ चिन्ता तिमी
माया माया भन्छौ ।
प्रायः कतिबेला गीत सुन्नुहुन्छ ?
बिहान र साँझमा धेरै सुन्छु । बिहान प्रायः टिभी बजाएर काम गर्दै गीत
सुन्छु । पहिले-पहिले राति सुत्ने बेलामा पनि सुन्थेँ । तर छोरी भएपछि
राति गीत बजाउन मिल्दैन ।
लामो यात्रा गर्दा संगीत सुन्ने बानी छ कि छैन ?
लामो यात्रामा त संगीत नभए मरिहाल्छु नी । म त गाडीमा बस्यो कि
गीत बजाइहाल्छु । गाडीमा बुढा-बुढी गीत सुन्दै यात्रा गर्दा साह्रै
रोमान्टिक फिल हुन्छ ।
के मा बजाउनुहुन्छ गीत ?
साझको बेलामा । गाडी । सुत्दा सुन्दिन । बिहान बिहान सुन्छु । गीत
लगायो । गाडीमा प्लेयरमा सुन्छु । टिभीमा सुन्ने मात्रै । मोबाइलमा
त्यत्ति राख्दिन । सुन्दिन । फ्लाइटमा मोबाइल ।
गीत सुन्न पिडामा धेरै मन लाग्छ कि खुशीमा ?
दुवैमा । तर दुई परिस्थितिमा सुन्ने गीतहरु फरक हुन्छन् । दुखको बेला गीत
सुन्दा मन हलुको भएको अनुभूति हुन्छ । खुशीको बेला त गीत सुन्दै झुम्न मन
लाग्छ ।
कोठामा गीत बजाएर एक्लै नाच्ने गर्नुभएको छ ?
किन नगर्नु । यो त मेरो सोखै हो । गीत बजायो कम्मर मर्कायो ।
नाच्दा ऐना पनि हेर्नुहुन्छ ?
हेर्छु । मलाई नाचेर मात्रै पनि चित्त बुझ्दैन । एक्सप्रेसनहरु पनि मिलाउनु
पर्छ । त्यसैले ऐना हेर्छु ।
तपाईं एक्लै नाचेको देख्दा सानी छोरीले के गर्छिन् ?
पहिले पहिले त ट्वाँ परेर हेर्थि । अचेल रमाएर उ पनि नाच्न खोज्छे ।
धुर्मुसलाई चैं नचाउनुहुन्न ?
पहिले पहिले नचाउँथे । अचेल त मान्नुहुन्न ।
उहाँ कत्तिको संगीतप्रेमी हो ? कि सुन्तलीप्रेमी मात्रै हो ?
उहाँ लोकगीत मात्रै सुन्नुहुन्छ । गाडीमा बस्दा कुन गीत लगाउने भनेर
लडाई नै पर्छ हाम्रो ।
धुर्मुस र संगीतमा एउटा रोज्नुपर्ने अवस्था आयो भने ?
धुर्मुस रोज्छु । उहाँ मेरो जीवनको संगीत पनि हो ।
तपाईंलाई मन पर्ने गायक/गायिका ?
गायक गायिका त थुप्रै छन् । सबै मन पर्छ भने लेखिदिनुस न ।
नामै लिनुपर्दा ?
कसको लिनु, कसको नलिनु । स्वरुपराज आचार्य, दिपक लिम्बु, शिव
परियार, अन्जु पन्त, प्रमोद खरेल, रजिना रिमाल, माण्डवी त्रिपाठी,
मिलत अमात्य । पुरानोमा नारायणगोपाल, रामकृष्ण ढकाल, अरुण थापा,
दिप श्रेष्ठ, लोकगीतमा पशुपति शर्मा, राजू परियार आदी । अरु नाम
तपाईंले नै सम्झेर थपिदिनुस । उहाँहरुको कुनै-कुनै गीत मन नपर्लान् तर स्वर
सबैको मन पर्छ ।
आफ्नै स्वर तपाईंलाई कस्तो लाग्छ ?
खोई के राम्रो भन्नु । राम्रो भएको भए सायद गायिका नै हुन्थेँ होला ।
कुनै गीत सुनेर रुनुभएको छ ?
धेरैचोटी रोएकी छु । जीवनको खास समय थियो, रोमान्टिक गीत सुन्दा
पनि आँखाबाट आँशू आउथ्यो ?
प्रेममा पर्दा हो ?
(हाँसो)
प्रेममा परेको बेला सबैभन्दा बढि कुन गीत सुन्नुहुन्थ्यो ?
तिम्रो आँखाको सागरमा लहर लहर दौडिरहेछ, यति धेरै माया दिई मन
भरी दुख नदेउ, कति दिन बिते यहि यादमा कति दिन अझै छ बिताउनु…
जस्ता गीतहरु सुन्थेँ । हिन्दीमा तुझे देखा तो ए जाना सनम, मै दुनिया
भुलादुंगा, धिरे धिरेसे मेरे जिन्दगीमे आना… अरु पनि थुप्रै छन् ।



0 comments:
Post a Comment