विश्वचर्चित व्यक्तिलाई भेट्ने र भलाकुसारी गर्न पाउने
नेपाली अक्सर मात्र भेटिन्छन् । कतिपय नेपालीले पनि
विश्व चर्चित खेलाडी, कलाकार, नेता तथा
सामाजिक अभियन्ताहरूलाई भेटेको समाचार
बेलामौकामा बाहिर आउँछ । तनहुँकी एक २२ वर्षीया
युवतीले विश्वचर्चित खेलाडी लियोनल मेसीलाई भेटेको
तस्बिर सामाजिक सञ्जालमा आएपछि अहिले उनलाई
बधाईको ओहिरो लागेको छ ।
काठमाडौंको मोक्ष निकेतन गुरुकुलका गुरु श्रमातित
मोक्षबाट दीक्षित पत्रकारिताकी विद्यार्थी रक्षा
पाण्डे स्नातक तेस्रो वर्षको परीक्षा सकेर केही
साथीहरूसँग बार्सिलोनाको भ्रमणमा गएकी थिइन् ।
एउटा संस्थाले प्रदान गरेको छात्रावृत्तिमार्फत
बार्सिलोना पुगेकी पाण्डेले विश्व नम्बर एक खेलाडी
लियोनल मेसीसँग भेटिन् । भेटमा मेसीले उनीसँग
नेपालको भूकम्पका सम्बन्धमा जानकारी लिए भने
पाण्डेले मेसीलाई भर्खरै पुत्र लाभ भएकोमा बधाई दिइन्
।
उनले पहिलो पटक मेसीलाई भेट्दाको अनुभव
अनलाइनमार्फत साप्ताहिकसँग साटेकी छिन् : मैले
विश्व चर्चित खेलाडी मेसीसँग भेट्न पाउँछु भनेर कहिल्यै
सोचेकी थिइन् । मेसी मलाई औधी मन पर्ने खेलाडी हुन् ।
जीवनमा कहिलेकाहीँ नसोचेको अवसर प्राप्त हुँदोरहेछ ।
हालैको एक दिन बिहान १० बजे मलगायत मेरा चार जना
साथी आन्टी क्लाउडियासँग ‘सिउडाड डे पोर्टिभा
डेल बार्सिलोना’ भन्ने ठाउँ गयौं । जहाँ मेसीलगायत
अन्य थुप्रै विश्वचर्चित खेलाडी फुटबल अभ्यास गर्छन् ।
हामी पुग्दा मेसीलगायत अरू सबै खेलाडी मैदानमा
अभ्यास गरिरहेका थिए । हामी भेट्न आउने कुरा
अघिल्लो दिन नै मेसीलाई जानकारी गराइएको थियो
भने उनले त्यसका लागि अनुमति पनि दिएका थिए । जब
हामी फुटबल मैदान पुग्यौ त्यहाँ उनीहरूलाई डिस्टर्ब गर्न
नपाइने रहेछ, त्यसैले लगभग ३० मिनेट कुर्यौं । त्यसपछि
मेसी आफैंले बोलाए अनि हामी बिस्तारै उनी अभ्यास
गरिरहेको स्थानतर्फ गयौं ।
मलाई विश्वासै लागेन– म विश्व नम्बर १ खेलाडी
मेसीसँग छु भन्ने कुराको । एकछिन त सपनैजस्तो लाग्यो ।
म एकदम धेरै एक्साइटेड थिए । मेसीले नेपालमा गएको
भूकम्पका सम्बन्धमा जान्न चाहे, हामीले सबै कुरा
विस्तारमा बतायौं । उनले अत्यन्तै चाख दिएर सुने अनि
सहयोग गर्ने वचन पनि दिए । हामीले करिब डेढ घण्टा
खेलाडीहरूसँग भलाकुसारी गर्यौं ।
मलाई एकदमै आत्मीय लागे मेसी । उनी भावुकसमेत भए ।
हामीलाई मेसीको भर्खरै छोरा जन्मिएको छ भन्ने
थाहा थियो । मौका नगुमाई हामीले बधाई दियौ ।
उनी खुसी भए । हामीले नेयमारसँग पनि कुरा गयौं । उनी
पनि त्यस्तै स्वभावका । नेयमारचाहिँ अलिक बढी
रोमान्टिक लागे । मेसी र नेयमारसँगै अभ्यासमा रहेका
अरू खेलाडीहरूसँग पनि भेट्न पाइयो । बिरलै मात्र
नेपालीहरूले यस्ता खेलाडी भेट्न पाउँछन तर मलाई
पढाउन लगेको संस्थाकी म्याडम लगायत स्थानीय
साथीहरूले यस्तो सौभाग्य जुराइदिनुभयो । मेसी र
नेयमारसँगको भेट मेरो जीवनकै अविस्मरणीय क्षण हो । म
ज्यादै खुसी छु र यसका लागि ईश्वरप्रति नमन गर्छु ।



0 comments:
Post a Comment