बढ्दैछ चहलपहल बजारको


देशले केपी शर्मा ओलीको रुपमा नयाँ नेतृत्व पाएपछि दसैंको चलहपहल प्रारम्भ हुने
अनुमान गर्न थालिएको छ । प्रधानमन्त्रीको रुपमा निर्वाचित भएको केही मिनेटपछि नै
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको टेलिफोन आएर बधाइसमेत पाएपछि
करिव दुई महिनादेखि अस्थिर तराई–मधेश शान्त हुने मात्र होइन, देशभरी नै दसैंको रौनक बढ्ने
अनुमान गरिएको छ ।
लत्ताकपडादेखि खाद्यान्न जोहो गर्नेसम्म, घरमा घोर्ले खसीदेखि टेलिभिजन भित्र्याउनेसम्म, नयाँ
मोबाइलदेखि गाडी फेर्नेसम्म सबैलाई चटारो छ, किनमेलको । त्यसैले त तराई बन्द र
भारतीय पक्षबाट भएको अघोषित नाकाबन्दीका कारण सुस्ताएको बजार क्रमश:
तङ्ग्रिँदैछ । ठूला सपिङ मलदेखि फुटपाथका खुद्रा व्यवसायी बेफुर्सदिला बन्दैछन् । शरद ऋतुको
मनमोहक मौसममा खरिद–बिक्रीको यो उपक्रमले दसैंको आगमनको छनक दिएको छ ।
अहिले नयाँ लुगा लगाउन र मीठो खान दसैं कुरिरहनुपर्ने बाध्यता छैन । यद्यपि दसैंकै मेसोमा एक
जोर नयाँ लुगा फेर्ने र इष्टमित्रको उपस्थितिमा मीठो–मसिनो खाने आममनोविज्ञानले यतिबेला बजारमा
क्रय–विक्रयको उपक्रम दोहोरिन्छ । दसैं यस्तो अवसर पनि हो, जतिबेला नेपालीहरू आफ्नो घरमा
सुख–समृद्धि भित्र्याउन उद्यत् रहन्छन् । कर्मचारीले पाउने ‘दसैं भत्ता’, रेमिट्यान्स आदि
कारणले नगद प्रवाह पनि बढ्ने भएकाले यो लत्ताकपडा, खाद्यान्न मात्र होइन घरायसीदेखि
विलासिताका सामग्री जोड्ने राम्रो साइत बन्छ ।
यसैकारण चोक–गल्लीका खुद्रा व्यवसायीदेखि ठूला कम्पनीहरू ‘दसैं अफर’
सहित प्रतिस्पर्धात्मक बजारमा प्रवेश गर्छन् । छुट, सेल, उपहार र विभिन्न अफरको
होडबाजीले उपभोक्तालाई आकर्षित गर्छ । परिणमत: दसैंको तिथि नजिकिएसँगै बजारमा घुइँचो लाग्न
थाल्छ । वर्षभरि हुने कारोबारको ३० प्रतिशत दसैं–तिहारमा हुने व्यवसायीहरूको भनाइ छ ।
यतिबेला राजधानीका असन, इन्द्रचोक, न्युरोडजस्ता होलसेल तथा खुद्रा पसलहरूमा उपभोक्ताको
भीड बढ्न थालेको छ । लुगाफाटो, खानेकुरा, पूजा सामग्री आदि खरिद गर्नेहरूको त्यहाँ
निकै ठूलो चहलपहल देखिन्छ । दरबारमार्ग, पुतलीसडक, जावलाखेल जस्ता ब्रान्डेड आउटलेटमा
‘सेल’ सुरु भैसकेको छ । सामान्य दिनमा भन्दा ४० प्रतिशतसम्म छुट पाइने भएकाले ती आउटलेटमा
ब्रान्डेड लुगाफाटा किन्ने उपभोक्ताको लस्कर लाग्न थालेको छ । चीनबाट आयात हुने लुगाफाटा तथा
जुत्ता–चप्पल किन्नेहरूको घुइँचोले पुरानो बसपार्कको सिटी मार्केट,
प्रदर्शनीमार्गस्थित हङकङ बजारमा छुट्टै रौनक थपेको छ । न्युरोड, विशालबजारलगायतका
ज्वेलरी पसलहरूमा पनि मनग्य कारोबार हुन थालेको बताइन्छ । ठूला सपिङ मल, डिपार्टमेन्टल
स्टोर, सुपर मार्केटहरूमा पनि दसैंको रमझम सुरु भएको छ । राजधानीका आधा दर्जनभन्दा
बढी मलले उपभोक्ताका निम्ति अतिरिक्त मनोरञ्जनसहित थुप्रै उपहार योजना सञ्चालनमा ल्याएका
छन् । यस्तो होडबाजीमा अन्तर्राष्ट्रिय कम्पनीहरू छुट्ने कुरै भएन । यी
कम्पनीहरूले दसैं–तिहारलाई लक्षित गरेर ‘वम्पर योजना’ सहित विशेष छुटमा आफ्ना उत्पादनलाई
बजारमा प्रस्तुत गरेका छन् । यसमा मोबाइलदेखि अटोमोबाइलसम्म
सामेल छन् ।
घर रंगाउने होस् वा झ्याल–ढोकाको पर्दा, बेडकभर फेर्ने, दसैं राम्रो बहाना हो । त्यसैले यतिबेला घरेलु
सजावटका सामग्रीको कारोबार पनि उचाइमा पुग्छ । भाँडावर्तन, विद्युतीय
सामग्री, मरमसला, फलफूल तथा माछामासुको खरिद–बिक्री पनि चम्किएको छ ।
‘मीठो खाने’ यो पर्वमा मासुको कारोबार ह्वात्तै बढ्छ । यतिबेला राजधानीको बागबजार,
बल्खुजस्ता ठाउँका खसीबजारको रौनक पनि बढेको छ । दसैंमा नेपालभर करिब २ अर्बको कुखुरा,
खसी, बंगुर माछाको कारोबार हुने तथ्यांक छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects