१३ पुस, काठमाडौं । राजधानीमा बढेको चिसोले तपाईं-हामीलाई जस्तै मोडल पार्वती राईलाई पनि दिक्क बनाएको छ । जति लुगा लगाए पनि जाडो लाग्न छाड्दैन उनलाई । जीवनमा पहिलो-पटक काठमाडौ यति चिसो महसुस गरेको बताउने उनी सायद पोहोर-परार पनि यसै भन्थिन् ।
‘यत्तिको चिसो पहिलोपटक महसुस गरें, आजसम्म काठमाडौं यतिधेरै चिसो भएको थाहा थिएन,’ उनले खोक्दै सुनाइन् ।
पार्वतीको घरमा एउटा ग्यास हिटर छ । तर, यसपालिको जाडोमा त्यो हिटरले आँखा खोल्न सकेको छैन । ‘खोई बिग्रियो कि के भो, थाहा छैन, यसपालि बालेकै छैन,’ उनले भनिन्, ‘खाना पकाउनै ग्यास नभएका बेला हिटर कसरी बाल्नु ?’ उनले इलेक्ट्रोनिक हिटर किनेकी छैनन् । किनेर पनि के गर्नु, बत्ति आए पो ।
तलमाथि लुगैलुगा
माथि डब्बल ज्याकेट लगाउने पार्वती भित्र थर्मकोट छुटाउँदिनन् । तल पनि थर्माकोटको सेट र बाहिरपट्टि बाक्लो पाइन्ट लगाउँछिन् ।
मोजा त ओछ्यानमा बस्दा पनि छुट्दैन उनको । हातको छाला नफुटोस् भन्नकै लागि उनकी आमाले भान्साको काममा लगाउँदिनन् । उनी भन्छिन् ‘मम्मीले भाँडा माझ्ने काम लगाउनुहुन्न, त्यसकारण पनि मेरो छालामा समस्या आएको छैन ।’
सुटिङमा सास्ती
यसपालि जाडोयाम सुरु भएपछि १५ वटा भिडियोमा अभिनय गरिन् उनले । स्टुडियोभित्र सुटिङ गर्दा त खासै समस्या हुन्न । आउटडोर सुटिङमा निकै अप्ठयारो हुने गरेको उनको अनुभव छ ।
अस्ति मात्रै गीतको सुटिङका लागि दिनभर ललितपुरको लेलेमा बस्नुपर्यो । त्यो दिनको चिसो अझै बिर्सेकी छैनन् पार्वतीले । ग्यासको अभावमा सुटिङमा दाउरामा भात पकाइएको थियो । त्यही दाउराको आगोमा हात र गाला सेक्दै जाडो भगाउने यत्न गरिन् उनले ।
धन्न त्यो दिनको डे्रस ‘लङ वानपिस’ थियो । ‘साडी र ब्लाउज लाउन परेको भए त मर्थें होला,’ उनले हाँस्दै भनिन् ।
खाली खुट्टा नाच्न साह्रै गार्हो
लोक-सांस्कृतिक गीतमा प्रायः खालीखुट्टा नाच्नुपर्ने हुन्छ । यो चिसोमा यस्ता गीतको सुटिङ गर्न साह्रै गार्हो हुँदोरहेछ मोडललाई । विगतमा केही भिडियोमा खाली खुट्टा नाचेकी पार्वतीले यसपालि चाहिँ यस्तो विपत्ति नआओस् भनेर कामना गरेकी छिन् ।
‘हे प्रभू, माघ १५ सम्म त्यस्तो गीतको प्रस्ताव नआए हुन्थ्यो,’ उनी भन्छिन् ।
घाम ताप्दै बदाम खाँदै
पार्वतीको घरको कौशीमा मज्जाको घाम लाग्छ । फुर्सद हुने बित्तिकै उनी उफ्रिँदै कौशीमा पुग्छिन् र पारिलो घाममा बसेर बदाम खान्छिन् । बदामबाहेक सुन्तला र नेपाली आलु चिप्स उनलाई घाम ताप्दा मनपर्ने आइटम हुन् ।
केही दिनअघि स्याङजाको खाल्डेमा सुटिङमा जाँदा स्थानीय खेमराज गुरुङले उनलाई बहिनी मान्दै एक बोरा सुन्तला कोसेली पठाइदिएका थिए । अहिलेसम्म त्यही सुन्तलाले धानेको छ ।
‘अहिलेसम्म अग्र्यानिक सुन्तला खाँदैछु, काठमाडौमा किनेर खान परेको छैन,’ उनले भनिन् ।
छाती जोगाउन सुझाव
चिसोमा छातीको विशेष ख्याल गर्नुपर्छ भन्ने लाग्छ उनलाई । प्रायः स्कुटीमा हिँडने गरेकी पार्वती जाडो महिनामा चेष्टगार्ड लगाएर मात्रै हिँड्छिन् ।
जाडोमा छालाको पनि उत्तिकै स्याहार गर्नुपर्ने सुझाव दिइन् उनले । ‘छाला जोगाउनका लागि सस्तो र राम्रो उपाय ग्लिसिरिन हो,’ पार्वतीले विज्ञापनकै शैलीमा भनिदिइन्, ‘मैले त ग्लिसिरिनमा कागती मिसाएर राखेकी छु । सुत्नेबेलामा हातगोडामा लगाएपछि छाला फुट्दैन ।’
चिसोबाट टाउको जोगाउन टोपी उपयुक्त हुने सुझाव दिने पार्वती पञ्जा त अनिवार्य लगाउनुपर्ने धारणा राख्छिन् ।



0 comments:
Post a Comment