अनुपम चिसापानी

अनुपम चिसापानी
सुन्तलारङ्गी सूर्यका किरण नदीमा चाँदीझैं टल्कन्छन् । ठूला फाँटहरूको सुन्दरता अनुपम लाग्छ । तिनै फाँटहरू कटान गरी बगेको नदी शान्त देखिन्छ, तलाउजस्तै । कर्णाली चिसापानीको बान्की यस्तै देखिन्छ । माथि अग्लो चुरे पर्वत शिरानी बनेर ठडिएको छ । तलतिर विशाल फाँटहरू छन्, त्यही फाँटमा बग्ने कर्णाली नदीको किनारको भू–भाग सुरम्य लाग्छ ।

सुदूर तथा मध्यपश्चिमकै प्रमुख पर्यटकीय स्थलका रूपमा लिन सकिन्छ, कर्णाली चिसापानी र बर्दिया राष्ट्रिय निकुञ्जको सेरोफेरोलाई । दक्षिण एसियाकै उत्कृष्ट पुलले यसमा मोहकता थपेको छ । नदीसँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्जले यसलाई महत्वपूर्ण भू–स्वर्ग बनाएको छ । कर्णाली नदीमा र्‍याफ्टिङ अनि जङ्गल सफारीका लागि बर्दिया राष्ट्रिय निकुञ्ज एउटा सुन्दर गन्तव्य हुनसक्छ, प्रकृतिप्रेमीहरूका लागि । प्राकृतिक तथा जैविक विविधताले भरिपूर्ण यो क्षेत्र विकासोन्मुख पर्यटकीय क्षेत्रका रूपमा चिनिन थालेको छ । वि.सं. २०१३ मा आरक्षका रूपमा स्थापना भएको बर्दिया आरक्ष २०५५ सालमा यसलाई बर्दिया राष्ट्रिय निकुञ्जमा परिवर्तन भएको हो । ९ सय ६८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो क्षेत्र घाँसे मैदान र चारकोसे झाडीहरूले ढाकिएको छ ।

दुर्लभ वन्यजन्तुहरूको वासस्थान भएकाले जङ्गली जनावरसँग रमाउनेहरूका लागि पनि यो उपयुक्त गन्तव्य हुन सक्छ । बर्दिया राष्ट्रिय निकुञ्ज नेपालकै सबैभन्दा बढी जङ्गली हात्ती पाइने ठाउँ हो । यहाँ विश्वमै दुर्लभ मानिने एक सिङ्गे गैँडा, पाटेबाघ, कृष्णासार तथा चित्तलका बथानहरूको पनि अवलोकन गर्न सकिन्छ भने हात्तीमा चढेर जङ्गल सफारी र फिडिङ गर्ने सुविधा पनि छ । ११ फिट ३ इन्च अग्लो एसियाकै सबैभन्दा अग्लो हात्ती यही निकुञ्जमा पाइन्छ । यसैगरी, विश्वकै दुर्लभ जन्तु कृष्णासारको बथान रहरलाग्दो देखिन्छ । नेपालको बर्दियामा मात्र पाइने कृष्णसारको अवलोकनका लागि विदेशबाट समेत प्रशस्त पर्यटक आउने गरेका छन् । यस्तै, विश्वकै दुर्लभ मानिएको एक सिङ्गे गैँडा पनि यो निकुञ्जको अर्को प्रमुख आकर्षण हो ।

निकुञ्जमा ८० भन्दा बढी एक सिङ्गे गैंडा छन् । नीलो कर्णाली नदीमाथि र्‍याफ्टिङमा रमाउँदै नदी बीचबाट चुरेलाई आँखैमा राखेर मजा लिन सकिन्छ । निकुञ्जमा पुग्ने पर्यटकका लागि कर्णाली नदीमा र्‍याफ्टिङ गर्दै बीचबीचमा बनाइएका टावर चढेर बाघ र गैंडा तथा गोही हेर्ने र आराम गर्दै कोठियाघाट पुगेर फर्कने व्यवस्था छ । डल्फिन माछाको एक मात्र प्राकृतिक बासस्थान भएको नदी कर्णाली हो । माछा पारखीहरूले यहाँ डल्फिनको स्वाद पनि प्राप्त गर्छन् । कर्णाली पुलकै छेउमा रहेको बजारमा थरी–थरीका माछाका परिकारहरूको स्वाद लिन सकिन्छ । कर्णालीको माछा सबैभन्दा स्वादिलो माछाका रूपमा परिचित छ । फिसिङको सौख राख्नेहरूले लागि कर्णालीमा फिसिङको आनन्द समेत उठाउन सक्छन् । अहिले बर्दिया निकुञ्ज तथा कर्णाली नदीसँगै बबई उपत्यकालाई जोडेर नयाँ गन्तव्यका रूपमा विकास गर्न खोजिँदैछ । प्राकृतिक सौन्दर्यको दृष्टिकोणले बबई उपत्यका निकै रमणीय छ । यातायातको राम्रो सुविधा एवं प्रशस्त भौतिक पूर्वाधारहरूको विकास भैसकेका कारण पनि यो सुदूर तथा मध्यपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य बन्ने देखिन्छ ।

अहिले वार्षिक रूपमा ६ देखि १० हजार पर्यटक यो क्षेत्रमा भित्रिने गरेका छन्, जसलाई बढाउन यहाँका पर्यटन व्यवसायीहरू लागिपरेका छन् । प्रचार–प्रसारको अभावकै बीच पनि राम्रै संख्यामा आउने पर्यटकको ताँतीले व्यवसायीहरूलाई उत्साहित बनाएको छ । अहिले नयाँ रिसोर्ट थप्ने तथा प्याकेजसहितका कार्यक्रम तय गरिएको ठाकुरद्वाराका पर्यटन व्यवसायी कृष्णप्रसाद भट्टराईले बताए । यद्यपि, उनीहरूले सरकारी सहयोगको अपेक्षा गरे पनि चाहिएअनुरुप नपाएको बताए । सांस्कृतिक विविधता तथा आदिवासी थारू जनजातिको बसोबास क्षेत्र भएकाले जनजातीय तथा सांस्कृतिक अध्ययनका लागि पनि यो क्षेत्र उत्कृष्ट गन्तव्य बन्न सक्छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects